कैलालीमा ७ थुनुवा सहित थप ११ प्रहरीमा कोरोना पुष्टि
2020/10/03, 8:29
 
corona

कैलालीमा ७ जना थुनुवा सहित थप ११ प्रहरीमा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा विभिन्न मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका ७ थुनुवामा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बताए।

उनका अनुसार उनीहरु सबै जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षमा रहेका छन्। कोरोना पुष्टि भएका ७ जनालाई छुट्टै राखिएको छ। यस्तै जिल्ला प्रहरी कार्यालयमै कार्यरत थप ११ प्रहरीमा समेत कोरोना पुष्टि भएको छ। प्रवक्ता प्रहरी नायब उपरिक्षक विष्टले जवानदेखि प्रहरी नायब निरिक्षक सम्मका गरी ११ जनामा संक्रमण देखिएको हो।

संक्रमण पुष्टि भएपछि उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमै स्थापना गरिएको आईसोलेसन कक्षमा राखिएको छ। कोरोना पुष्टि भएका केहीमा लक्षण देखिएपनि अधिकांशमा भने कुनै लक्षण नदेखिएको प्रहरी नायब उपरिक्षक विष्टले जानकारी दिए।