सुगम जिल्ला कैलालीको दुर्गम मानिने हौसलपुर गाउँमा आइतबारदेखि बिजुली बलेको छ । प्रदेश सरकार, कैलारी गाउँपालिका र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा सो गाउँमा विद्युत पु¥याइएको हो । प्रदेश सभा सदस्य वीरमान चौधरी, कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरी र वडा नम्बर ७ का वडा अध्यक्ष कमलप्रसाद चौधरीले संयुक्त रुपमा त्यसको उद्घाटन् गरे ।
कैलारी गाउँपालिका–७ स्थित मोहना नदी पारि नेपाल–भारत सिमानामा रहेको हौसलपुर गाउँ निकै दुर्गम मानिन्छ । विगतमा राज्यको सेवा सुविधाबाट बञ्चित यो गाउँका स्थानीय अधिकांश कार्यका लागि भारतमा निर्भर रहँदै आएका थिए । सरकार र सरकारी निकायको पहुँच हौसलपुरसम्म पुग्न सकेको थिएन । तर, स्थानीय सरकार गठनपछि भने हौसलपुरमा क्रमिक रुपमा विकास हुन थालेको छ । राज्यबाट प्राप्त हुने सेवा सुविधा गाउँवासीले पाउन थालेका छन् भने स्थानीय सरकार र सरकारी निकायको उपस्थितिसमेत देखिएको छ ।
दुर्गम हौसलपुरमा २८ घरधुरी रहेको छ । बिजुली बलेपछि स्थानीय खुशी भएका छन् । उनीहरुले विद्युत पुगेपछि भोज गरेर खुशीयाली मनाएको जनाइएको छ । हौसलपुरमा विद्युत पुगे पनि सो गाउँलाई अझै सुगम मान्न नसकिने वडा अध्यक्ष चौधरीले बताए । ‘मोहना नदीमा पुल, सो गाउँमा विद्यालय निर्माण नभएसम्म हौसलपुर दुर्गम नै रहनेछ’, उनले भने । ‘नदीमा झोलुङ्गे पुल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ ।’ नदीमा पुल नभएका कारण बर्खायाममा हौसलपुरसम्म ओहोदोहोर गर्न कठीन हुने गर्दछ । डुङ्गाको भरमा सो गाउँवासी नदी तर्दै आएका छन् । यसैगरी, विद्यालय नभएका कारण गाउँभरिका बालबालिका छिमेकी राष्ट्रको विद्यालयमा अध्ययन गर्न बाध्य छन् ।
हौसलपुर गाउँका लागि अझै धेरै कार्य गर्न बाँकी रहे पनि एउटा ठूलो काम सफल भएको वडा अध्यक्ष चौधरीले बताए । ‘विद्युतीकरण भएपछि हामी जनप्रतिनिधि अत्यन्त खुशी भएका छौं’, उनले भने । यसअघि, विद्युत नपुगेका कारण सो गाउँका स्थानीय टुकी र सोलारको भरमा गुजारा गर्दै आएका थिए । अब उनीहरुको त्यो बाध्यता हटेको छ । सो गाउँसम्म विद्युत पु¥याउनका लागि गत आर्थिक वर्षदेखि काम थालिएको थियो । कैलारी गाउँपालिकाको केही ठाउँमा अझै विद्युत पुग्न बाँकी रहेको जनाइएको छ । विद्युतीकरणका लागि घोडाघोडी सहकारीले ठेक्का लिएका ठाउँहरुमा अझै पनि विद्युत पुगेको छैन ।