सुदूरपश्चिम सरकारले निर्णय गरेको ६ महिनापछि २० वटा भेन्टिलेटर ल्याइयो
2020/10/05, 8:35
 
ventileter

सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदले निर्णय गरेको ६ महिनापछि प्रदेशमा २० वटा भेन्टिलेटर आपूर्ति गरिएको छ। गत चैत २७ गतेको मन्त्रीपरिषदको बैठकले सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र सात पहाडी जिल्लाका अस्पतालहरुका लागि भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो। निर्णय गरेको एक सय ७९ दिन अर्थात झण्डै ६ महिनापछि प्रदेशमा २० वटा भेन्टिलेर आपूर्ति गरिएको हो।

प्रदेशमा कोरोना संक्रमितलाई राख्न भेन्टिलेटको अभाव हुने भन्दै प्रदेश सरकारले भेन्टिलेर खरिद गर्ने निर्णय गरेको थियो। जसअनुसार सामाजिक विकास मन्त्रालय मातहतको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले असार २९ गते ६० दिनभित्र भेन्टिलेटर आपूर्तिका लागि सम्झौता गरेको थियो। 

सम्झौताको ८३ दिनपछि हस्पिटेक ईन्टरप्राईजेज प्रालि काठमाडौंले पाँच करोड ६५ लाख ५० हजारमा आपूर्तिको सम्झौता भएका २० वटा भेन्टिलेटर धनगढी ल्याएको छ। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार सबै अस्पतालहरुका लागि खरिद भएका  भेन्टिलेटर धनगढी आएको र भौतिक संरचना र जनशक्ति व्यवस्थापनका लागि पत्राचार गरिएको छ। अहिले उच्च गुणस्तर भएका भेन्टिलेटर सामग्री आपूर्ति व्यवस्थापनको गोदाममा राखिएको बयोमिडेक इन्जिनियर हरेन्द्र चटौतले बताए।

यस्तै भेन्टिलेटर आएपश्चात सेती प्रादेशिक अस्पतालमा जडानको काम सुरु गरिएको छ भने महाकाली अस्पतालका लागि मंगलबार लगिने जनाइएको छ। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले आइसियूमा दुई भेन्टिलेटर जडानको काम जारी रहेको बताए। ‘जडानको कार्य हुँदैछ, प्राविधिकहरु लागि रहनुभएको छ।’

यस्तै महाकाली अस्पतालका मेसु डाक्टर हरिकुमार श्रेष्ठले भेन्टिलेटर जडानका लागि अस्पतालमा भौतिक संरचना र जनशक्ति व्यवस्थापनमा समस्या रहेको बताए। उनले प्रदेश स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयसंग सो बारेमा छलफल भइरहेको बताए। त्यस्तै आएका भेन्टिलेटर पहाडी जिल्ला पठाउने विषयमा भने अझै टुंगो लागेको छैन्। बाजुरा सम्म ढुवानीका लागि सडक सञ्जाल नभएको भएपनि अन्य जिल्लामा भने आपूर्ति गर्न सकिने प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले बताएको छ। 

बाजुरामा सडक मर्मतको काम अन्तिम चरणमा रहेकाले उक्त कार्य सम्पन्न भएपछि भेन्टिलेटर डुवानी हुने स्वास्थ्य कार्यालय बाजुराका  प्रमुख दयाकृष्ण पन्तले बताए। सुदूरपश्चिममा अहिले १२ वटा मात्र भेन्टिलेटर उपलब्ध छन्। पछिल्लो समय कोरोना संक्रमणबाट गम्भिर बिरामी हुनेको संख्या बृद्धि हुँदै गएकाले चाँडो भेन्टिलेटर व्यवस्थापन गर्न चिकित्सकहरुको सुझाव छ।