२९ जनाको ज्यान जाने गरी भएको जोरायल बस दुर्घटनाको ६ बर्ष पूरा
2020/10/06, 12:11
 
accidnet

डोटीको जोरायल गाउँपालिका वडा नम्वर २ कटपत्तेमा २९ जनाको ज्यान जाने गरि भएको बस दुर्घटनाको आज ६ बर्ष पुगेको छ । दशैँको टिका थापेर कर्मथलो फर्किर्दै गर्दा २०७१ साल असोज २० गते भएको बस दुर्घटनामा २९ जनाले ज्यान गुमाएका थिए भने ६८ जना घाईते भएका थिए ।

सोही दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ । जोरायलमा बस दुर्घटना भएपछि सरकारले छानबिन समिति गठन गरेको थियो । समितिले तत्कालीन र दीर्घकालीन सुझाव सहित बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालीन सहसचिव रविन्द्र श्रेष्ठको संयोजकत्वमा गठन गरेको समितिले बुझाएको प्रतिवेदनमा सवारी गुड्नुअघि पार्टपुर्जा, टायर ठीक भए÷नभएको परीक्षण गर्नुपर्ने, सिट क्षमताभन्दा बढी यात्रु राख्न दिन नहुने पनि उल्लेख छ । प्रतिवेदनमा औंल्याएको विषय कार्यान्वयन नभएकै कारण बेला–बेला दुर्घटना दोहोरिरहेका छन् भने सडकको पनि दुराअवस्था छ ।