दशै तिहार लगायतका चाड पर्वलाई लक्षित गरेर ट्राफिक प्रहरी कार्यालय कैलालीले जिल्लाका ५ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । यात्रुहरुको सहजताका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले यात्रु सहायता कक्ष स्थापना गरेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक बिरेन्द्र बहादुर बोहराका अनुसार धनगढीको त्रिनगर भन्सार र बस पार्क, टीकापुर, लम्की र अत्तरिया गरी पाँच वटा ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो ।
उनले यात्रुहरुको चापलाई व्यवस्थित गर्न, सिमा नाकाहरुमा यात्रुहरु माथि हुने दुव्यर्वहार कम गर्न, भाडा अशुलीे र सार्वजनिक यातायातका सवारीहरुमा यात्रुहरुलाई हुन सक्ने हैरानी लगायतका समस्या समाधानका लागि सहायता कक्ष स्थापना गरिएको बताए ।
उनले कोरोना नियन्त्रण गर्न सरकारले लागु गरेको सुरक्षा मापदण्ड कार्यान्वयन गर्न समेत आफुहरु सचेतना फैलाउन लागि परेको बताए । सचेतना फैलाउनका लागि झण्डै १० हजार भन्दा बढीका पर्चा पम्पलेटहरु वितरण गरिने उनको भनाई छ ।
सार्वजनिक सवारी साधन धनीहरुलाई अनिवार्य रुपमा सुरक्षा मापदण्डका नियम पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
प्रहरी निरिक्षक बोहराले सवारी धनीहरुले स्वास्थ्य सुरक्षाका नियम पालना नगरेको पाईएमा कार्वाही गर्ने बताए । प्रत्येक सार्वजनिक सवारी साधनमा सेनिटाईजर, मास्क र सरकारको नियम अनुसार यात्रुहरु राख्नु पर्ने छ । यदि कुनै सवारी धनीले सुरक्षा मापदण्डका नियम पालना नगरेको भेटिए १०३ मा यात्रुहरुले फोन गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।