वैदेशिक रोजगारीमा ज्यान गुमाएकी कैलालीको धनगढी उपमहानगरपालिका ९ गौरीकटानकी ४६ वर्षीया गीताकुमारी पार्कीको परिवारका चार जना सदस्य विचल्लीमा परेपछि खाद्यान्न सहयोग गरिएको छ। ह्यूमानिटी फाउन्डेसका सदस्य एबम संचारकर्मी दीपक उपाध्यायले आफ्नो छोरीको जन्मदिनको अवसर पारेर खाद्यन्न सहयोग गरेका हुन्।
छोरी सान्भी उपाध्यायको जन्मदिनको अवसरमा घरमै पुगेर ५० किलो चामल, ५ किलो दाल, १ दर्जन नुहाउने साबुन, खाने तेल, विस्कुट, कोल्गेट, ब्रस, सेनेटरी प्याड लगायतको सामान सहयोग गरेको पत्रकार समेत रहेका उपाध्यायले बताए। उनले आमा बुबा गुमाएकी टुहुराहरुलाई सहयोग गर्न पाएकोमा खुशी ब्यक्त गरे।
बस्ने घरबास समेत नभएका उनीहरुलाई वडा नम्वर ९ की वडा सदस्य शारदा ताम्राकारले आफ्नो घरमा एउटा कोठा निशुल्क रुपमा उपलब्ध गराएकी छिन्। कुबेतमा मृत्यु भएकी पार्कीको शव धनगढीमा असोज १२ गते पुगाइएको थियो।
गीता सात वर्षअघि कुवेत जाँदा कान्छी छोरी नौ महीनाको मात्र थिइन्। एउटा छोरो ६ वर्ष र अर्को आठ वर्षका थिए। तीनै जनालाई १० वर्षीया छोरी सुशीलाको जिम्मा लगाएर उनी विदेसिएकी थिइन्। एक वर्षसम्म त बाबुको साथ थियो। तर, उनको मृत्यु भएपछि सुशीलाले तीनै भाइ बहिनीलाई आफैँले हुकाईन्।