भारतबाट फर्किएका नेपाली भन्छन्– ‘दसैंको खर्च गाडी भाडामै सकियो’
2020/10/09, 9:32
 
corona

भारतको बैंगलोरमा रोजगारी गर्ने कैलाली, टीकापुरका तिलक विक कञ्चनपुरको गड्डाचौकी नाका हुँदै घर फर्किए । कोरोना महामारीकै बीचमा पनि भारतमै काम गरिरहेका उनी दसैं–तिहार नजिकिएसँगै घर आएका हुन् । यस पटक उनले गाडीभाडामै धेरै रकम खर्चनुप¥यो । बैंगलोरबाट महेन्द्रनगर पुग्दा अरू बेला डेढ हजार भारुले पुग्ने गरेकोमा यस पटक ७ हजार भारु खर्च भएको तिलकले बताए ।

‘बसभाडा मात्रै होइन, सीमामा आइपुग्दा बनबासा–गड्डाचौकीसम्म अटो रिक्साले पनि दोब्बर–तेब्बर भाडा लिए,’ उनले भने, ‘दुःख सहेर जोगाएको पैसा त बाटोमै सकियो ।’ तिलक ७ वर्षदेखि बैंगलोरको एक होटेलमा काम गरिरहेका छन् । उनी एक–डेढ वर्षमा घर फर्किन्छन् । यस पटक नाकामा जाँचका नाममा पनि अरू बेलाभन्दा धेरै सास्ती भोगे । सीमामा भारतीय भन्सारलाई ५० रुपैयाँ अतिरिक्त तिर्नुपरेको उनले बताए । भारतीय सुरक्षाकर्मीले जाँचका बहानामा घर फर्कने नेपालीबाट अहिले पनि रकम असुलिरहेको उनको भनाइ छ ।

बझाङ, तलकोटका फनबहादुर रोकाया पनि केरलाबाट घर फर्किए । भारतमा कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको र काम पनि राम्ररी नचलेको भन्दै उनी फर्किएका हुन् । ‘कोरोनाका कारण काम पनि राम्ररी चलेको छैन,’ रोकायाले भने, ‘अलि–अलि ल्याएको खर्च पनि बाटैमा सकिएला जस्तो भयो ।’ कोरोना महामारीका कारण भारतमा थुप्रै नेपालीले रोजगारी गुमाएका छन् । कतिपय न्यून ज्यालामा काम गरिरहेका छन् । यस्तो अवस्थामा चाडपर्वका बेला घर फर्किदा लाग्ने खर्चले उनीहरू झनै मारमा परेका छन् । दसैं–तिहारका लागि जोगाएको रकम पनि बाटोमै खर्च हुन थालेको उनीहरूको भनाइ छ ।

केरलाबाट गड्डाचौकी पुग्दा ७ हजार भारु बस भाडामै सकिएको रोकायाले बताए । अरू बेला उनी अढाई–तीन हजार रुपैयाँमा घर पुग्थे । विगतका वर्षमा नेपाल–भारत दुवैतर्फका सुरक्षाकर्मीले बसहरूले लिएको बढी भाडा फिर्ता गराउने गरे पनि यसपालि त्यो हुन सकेको छैन । रोकाया केरलामा होटेलमा काम गर्छन् ।

उनले पनि बनबासाबाट गड्डाचौकी पुग्न अटो रिक्सामा ३ सय तिर्नु परेको बताए । सामान्य अवस्थामा बनबासादेखि गड्डाचौकीसम्मको भाडा २० भारु मात्र हो । ‘हामीसँग नाकामै समेत बढी भाडा लिइएको छ,’ दार्चुलाको गोकुलेश्वरका दिनेश साउँदले भने, ‘बनबासादेखि गड्डाचौकीसम्मको मात्रै ४ सय तिरेँ ।’

दसैं–तिहार नजिकिँदै गएपछि केही दिनयता भारतबाट घर फर्किनेको संख्या फेरि बढ्दै गएको छ । गड्डाचौकी नाकाबाट दैनिक ५०÷६० जना भित्रिने गरेकोमा अहिले सो संख्या बढेर अढाई तीन सय पुगेको खबर भवानी भट्टले कान्तिपुरमा लेखेका छन ।