डडेल्धुरामा सरकारी सवारी साधनको चरम दुरुपयोग, नेवि संघद्वारा चार दिने अल्टिमेटम
2020/10/16, 3:19
 
altimate

डडेल्धुरा जिल्लामा सरकारी सवारी साधनहरुको चरम दुरुपयोग भईरहेको भन्दै नेपाल विद्यार्थी संघ डडेल्धुराले तत्काल दुरुपयोग रोक्न मागगर्दै जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई ज्ञापन पत्र बुझाएको छ ।

सरकारी सवारी साधनहरु सरकारी कामवाहेक ब्यक्तिगत कामका साथै अवैधानिक कृयाकलापमा समेत दुरुपयोग गरिएको भन्दै शुक्रबार नेपाल विद्यार्थी संघ डडेल्धुराले चारदिन भित्रै यसप्रकारका गतिविधी रोक्न अल्टिमेटमसहित प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई ज्ञापन पत्र बुझाएको हो । डडेल्धुरा बहुमुखी क्याम्पसका स्ववियु सभापति तथा नेपाल विद्यार्थी संघ डडेल्धुराका नेता जगत ऐरलगायत जिल्लास्तरीय विद्यार्थी नेताहरुको एक समुहले चारदिनभित्रै सरकारी सवारी सधानहरुको दुरुपयोग रोक्न स्थानीय प्रशासन समक्ष माग गरेको छ ।

चारदिन भित्र स्थानीय प्रशासनले आवश्यक कारवाही प्रकृया अघि बढाएर सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न नसकेमा नेपाल विद्यार्थी संघले दुरुपयोग गरिएका सरकारी सवारी साधनहरु कब्जामा लिएर प्रमाणसहित कारवाहीका लागि स्थानीय प्रशासन समक्ष पेश गरिने नेपाल विद्यार्थी संघ डडेल्धुराले जनाएको छ ।

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले नेपाल विद्यार्थी संघ डडेल्धुराले आम नागरिकको जनजीवनसँग प्रतक्ष्य सरोकार राख्ने जलन्त मुद्दा र सवालहरु उठाएर डडेल्धुरामा हालसम्म गरिरहेका कृयाकलापहरु प्रसंसनीय रहेको बताए । सरकारी सवारी साधनहरुको दुरुपयोग भईरहेको सन्दर्भमा आफुलाई पनि पटक पटक गुनासो आउने गरेको बताउदै प्रजिअ बास्तोलाले कार्यालय प्रमुखहरुको नियमित मासिक बैठकमा सो बिषयमा छलफल गरेर कडाईका साथ दुरुपयोग रोक्न पहल गरिने बताए ।

नेपाल विद्यार्थी संघ डडेल्धुराले राज्य संयन्त्रहरुलाई यस्ताखाले सूचना उपलब्ध गराएर स्थानीय प्रशासनलाई आवश्यक सहयोग गर्न आग्रहगर्दै आफै कानून हातमा लिने परिपाटीको अन्त्यका लागि पनि पहल गर्न प्रजिअ वास्तोलाले आग्रह गरे । नेपाल विद्यार्थी संघ डडेल्धुराले भने स्थानीय प्रशासनले सरकारी सवारी साधनहरुको दुरुपयोग रोक्न ढिलाई गरेमा चार दिन पश्चात त्यसकिसिमका कृयाकलापमा संलग्न ब्यक्तिहरुलाई समातेर प्रमाणसहित कारवाहीका लागि पेश गर्ने चेतावनी ज्ञापनपत्रमार्फत दिएको छ ।