‘प्रदेश सरकार कोरोनाबाट बँच्न सचेत हुन आग्रह गर्छ, सरकारका प्रवक्ता मान्छे बटुलेर पार्टी प्रवेश गराउँछन्’ 
2020/10/23, 1:01
 
corona

कोरोना भाइरसका कारण संक्रमण फैलिँदै जान थालेपछि सर्वसाधारणलाई सचेत हुन सुदूरपश्चिम सरकारले आग्रह गरेको छ । दिन प्रतिदिन संक्रमण बढ्दै गइरहेकाले सर्वसाधारण तथा प्रदेशवासीहरुलाई सावधानी अपनाउन प्रदेश सरकारले अनुरोध गरेको हो । कोरोनाको जोखिमवाट बच्न मास्क लगाउन, सेनिटाइजर प्रयोग गर्न, साबुन पानीले हात धुन, भीडभाड भएको ठाउँमा नजान तथा नगर्न र अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन सुदूरपश्चिम सरकारले आग्रह गरेको छ । 

‘यस अवस्थामा आफू र अरुलाई पनि संक्रमणवाट बचाउन हाम्रो पहिलो कर्तव्य र दायित्व हुन आउँछ । संक्रमणवाट आफु पनि बच्न र अरुलाई पनि बचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ ।’ प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरुले विभिन्न कार्यक्रमहरुमा आग्रह गरिरहेकै छन् । तर समुदायस्तरमा कोरोना कहर बढिरहेका वेला प्रदेश सरकार प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाहलाई गृह जिल्लामा पार्टी प्रवेश गराउन भ्याईनभ्याई छ ।

कोरोना सम्वन्धी स्वास्थ्यको मापदण्ड अपनाउन नागरिकलाई सल्लाह र सुझाव दिनुपर्ने अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शाह भने मान्छे बटुलेर पार्टी प्रवेश गराउने कार्यमा सक्रिय भएका छन् । उनकै उपस्थितिमा भईरहेका कार्यक्रमहरुमा कोरोनाबाट बँच्ने सामान्य मापदण्ड पनि पालना गरिएको छैन् । न त भौतिक दुरी नै छ न त सहभागीता जनाउने मास्क र सेनेटाईजर नै प्रयोग गरेका छन् । 

बुढीगंगा नगरपालिका स्थित बडीमालिका क्याम्पस फालासैनमा बुढीगंगा नगर कमिटीले दशैंको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदानमा सहभागि भएर पार्टी प्रवेश गराउन मन्त्री शाह बाजुरामा रहेका छन् । कोरोनाको संक्रमणको जोखिम बाजुरामा उच्च रहेको र स्थानीय प्रशासनले भेला नहुन सचेत गराईरहेका बेला प्रदेश सरकारका जिम्मेवार मन्त्री नै पार्टी प्रवेशको नाममा भिडभाड गराउने कार्यमा लागेको नेपाली काग्रेंसको आरोप रहेको छ ।

नेकपाका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य लालबहादुर थापा पनि अहिले पार्टी प्रवेश गराउने काममा सक्रिय बनेका छन् । उनीहरुले गरिरहेको गतिविधिलाई रोक्न स्थानीय प्रहरी र प्रशासनले सकेको छैन् । प्रहरी र प्रशासन मौन बस्दा मान्छे खेडेर मन्त्री शाह पार्टी प्रवेशको कामलाई तिव्रताका साथ अगाडी बढाईरहेका छन् ।