कोरोना त्रासले खल्लो बन्यो दशैंः घरछिमेकमा संक्रमण फैलिँदा छैन उमङ्ग
2020/10/24, 2:09
 
corona

दशैं नजिकिँदै गर्दा परदेशबाट पैसा बोकेर गाउँघर फर्किनु अधिकांश नेपालीको भोगाइ हुन्थ्यो । दशैंका बेला गाउँघरमा आफन्त, इष्टमित्रबीच भेटघाट र भलाकुसारी हुन्थ्यो । यसपालिका कोरोना भाइरस संक्रमणको महामारीले समय फेरेको छ । धनगढीका ६५ वर्षीय दानसिंह उपाध्याय भन्छन्, ‘यस वर्ष परिस्थिति ठीक विपरीत छ । गरीबीको मारले दशैंको मुखमा मुग्लान पस्नेहरूको संख्या पनि उत्तिकै छ ।’
परदेशिएका आफन्त घर फर्किंदा हाँसीखुशी मनाइने दशैं यसपालि खल्लो भएको छ । आफन्तहरू दशैंको मुखमा परदेश गएका छन् । ‘कोरोनाले स्वदेशमै भएका आफन्त पनि भेटघाटमा जान सकिने अवस्था छैन । छोरीचेलीहरू माइतीघर आउने स्थिति छैन,’ उनले भने ।

कोरोनाको संक्रमण झन् बढ्दै गएपछि नेपाली नागरिक त्रसित छन् । ‘कुन बेला कोरोनाले समात्ने हो भन्ने चिन्ता छ,’ अत्तरियाकी सीता थापाले भनिन्, ‘दशैं त शुरू भयो तर के गर्ने ? यस्तो कोरोनाको समयमा कसरी दशैं मनाउनु ? अब घरमै दशैंको टीका लगाएर मनाउनुपर्ला । यस वर्ष विगत जस्तो उत्साह छैन ।’

घरका आफन्तलाई कोरोना लागेको परिवारमा दशैंको चटारो छैन । ‘हाम्रो त दाजुलाई कोरोना लाग्यो अब कसरी दशैं मनाउनु ?’ गोदावरीकी २० वर्षीय पार्वती भट्टले दुखेसो पोखिन्, ‘अब हामी पनि कोरोना परीक्षण गर्ने तयारीमा छौं । ४ वर्षपछि दाइ घर आउनुभएको थियो । यसपालि बाहिरका इष्टमित्रसँग दशैं मनाउन नपाए पनि घर परिवारमै सद्भाव बाँड्ने योजना थियो । तर सबै कुरा बर्बाद भयो । परिवारमै कोरोना देखियो, निकै त्रसित छौं ।’

दशैंको मुखैमा कोरोना बढ्दै जानु र लक्षण समेत देखिनुले जोखिम झन् बढेर चाडपर्व मनाउने उत्साह नै नभएको धनगढी उपमहानगरपालिका–२ का पूर्ण आचार्यले बताए । ‘अहिले त घरपरिवारकै सदस्य एकअर्कासँग डराउनुपर्ने अवस्था छ । जसबाट पनि हामीलाई संक्रमणको जोखिम छ । त्यसकारण त्रास नै त्रास छ, दशैको उत्साह छैन,’ उनले भने ।

बसपार्क सुनसान
विगतका वर्षमा दशैंका बेला बसपार्कमा भीडभाड हुन्थ्यो । तर यसपालि चाडपर्वको मुखमै धनगढी बसपार्क सुनसान छ । ‘यात्रुको चाप छैन । यात्रु कुर्दै दिन कटाइरहेका छौं,’ सुदूरपश्चिम यातायात व्यवसायी प्रालिका धनगढी काउन्टर इन्चार्ज सन्तोष श्रेष्ठले भने, ‘यात्रु नै छैनन् । गत वर्ष टिकट पाउनै मुस्किल हुन्थ्यो ।

अग्रिम टिकट बुकिङ खोल्दा पनि यात्रुले गन्तव्यसम्म जान निकै सास्ती हुन्थ्यो । तर यस वर्ष बसपार्क सुनसान छ । त्यसकारण अग्रिम टिकट बुकिङ पनि खुलेन ।’ यात्रु नभएपछि गाडी चालक पनि निराश छन् । बस चालक प्रमोद शर्माले भने, ‘अहिले सबैभन्दा बढी मारमा हामी छौं । साहुको ऋण उस्तै छ । आम्दानी नै छैन, कसरी दशैं मनाउनु ?’

चिकित्सकको चेतावनी – दशैं दशा बन्नसक्छ
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या बढ्दो छ । सयौं संक्रमित होम आइसोलेसनमा रहेकाले दशैंको समयमा विशेष सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।  ‘दशैंको समयमा भीडभाड भयो भने संक्रमण फैलिने खतरा निकै बढी हुन्छ,’ प्रदेश स्वास्थ्य निर्देशक गुणराज अवस्थीले भने, ‘दशैं कसैका लागी दशा नबनोस् समयमै सचेत रहौं । अनावश्यक भीडभाड नगरौं । घरमा आफन्तहरू नबोलाऔं, घर परिवारसँग मात्रै दशैं मनाऔं ।’

दशैंमा सजगता अपनाउन नसके स्थिति भयावह हुनसक्ने सेती प्रादेशिक अस्पतालका कोभिड विभाग प्रमुख डा. शेरबहादुर कमरले बताए । ‘चाडपर्वको नाममा लापरबाही नगरौं । सबैले सक्दो सचेतना अपनाऔं,’ उनले भने । जिल्ला प्रशासन कार्यालयहरूले पनि सूचना जारी गरेर सावधानी अपनाउन आग्रह गरेको खबर जीवन बिष्टले लोकान्तरमा लेखेका छन् ।