सीमा नाका सुनसानः यसपालीको दशैंमा कहाँ गए घर फर्किने प्रदेशीहरु ? (भिडियो सहित)
2020/10/24, 6:08
 
sima naka

चाडपर्वका बेला घर फर्किनेहरुको घुँइचो लाग्ने त्रिनगर र गड्डाचौकी नाका यसवर्ष भने कोरोना महामारीका कारण सुनसान छन् । सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट हजारौं सुदुरपश्चिमेलीहरु दशैं, तिहार मनाउन घर फर्किने गर्थे । तर अहिले भने फर्किनेको संख्या निकै कम रहेको छ । भारतमा रोजगारीमा रहेकाहरु यसअघि नै आईसकेका छन् भने फ्याट्फुट् रुपमा मात्रै अहिले घर फर्किरहेका छन् । कोरोना भाइरसको त्रासका कारण गत चैतदेखि नै लाखौं नेपाली भारत छाडेर स्वदेश आइसकेकाले पनि चाडपर्वमा सीमा नाकाहरू सुनसान भएका हुन् ।

गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक नरेन्द्र चन्दले भारतबाट यहाँको नाका हुँदै दैनिक दुई देखि तीन सय नेपाली स्वदेश फर्किरहेको बताए ।  ‘कोरोनाको डरले नेपालीहरू पहिल्यै हजारौंको संख्यामा यहाँबाट भित्रिसके’, उनले भने, ‘यस वर्ष विगत जस्तो चाडपर्वमा आउनेहरूको तछाडमछाड छैन ।’ भारतबाट आउनेहरूमध्ये पनि बीस प्रतिशत मात्रै दशैं लगायत चाडपर्व मनाउन आएको बताउने गरेको प्रहरी नायव निरीक्षक थापाले जानकारी दिए ।

‘अहिले पनि भारतबाट कोरोनाकै डरले नेपालीहरू घर आइरहेका छन् ।’ गड्डाचौकी नाकाबाट दैनिक १०० देखि २०० सम्म नागरिक भारत रोजगारीका लागि गइरहेको प्रहरीको भनाइ छ । विगतमा दशै शुरू हुनुअघि नै यहाँको नाकाबाट दैनिक दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका थिए ।

कृष्णपुर नगरपालिकाका अर्जुन जोशीले कोरोनाले भारतमा हुँदा पनि दुखः पाइएकाले दिल्लीबाट घर फर्किनुपरेको बताए । ‘लामो समयसम्म कम्पनी बन्द भएकाले कोठामै बस्नु प¥यो’, उनले भने, ‘अहिले त सुरक्षित रूपले घर पुग्नु नै ठूलो कुरो भइसक्यो ।
कोरोनाका कारण धेरै नेपालीको रोजगारी गुमेकाले स्वदेशमै काम गर्ने योजना बनाएर धेरैजसो घर फर्किरहेका छन् ।’ उनले भने ।

कोरोनाका कारण यहाँका नाकाहरूबाट सुदूरपश्चिममा मात्रै डेढ लाखभन्दा बढी स्वदेश भित्रिएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ । त्यसैगरी डोकेबजार नाकाबाट गत पनि एक दुई सयको संख्यामाघर फर्किएको र सोही संख्यामै रोजगारीका लागि भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायव निरीक्षक भुपाल थापाले जानकारी दिए । ‘विगत जस्तो भारतबाट बिदामा पर्व मनाउन आउनेहरूको संख्या धेरै नै कम छ’, उनले भने, ‘अस्तिसम्म भारत जानेहरूको संख्या बढी थियो ।’

‘आर्थिक अवस्थाले धेरै नेपाली दशैं छाडेर पनि मजदूरीका लागि भारत गइरहेका छन’ प्रहरी नायव निरीक्षक थापाले भने, ‘कोरोना सङ्क्रमण बढिरहदा घर आउनेहरू अघिल्ला महिनाहरूमै आइसके ।’  यहाँबाट भारतको राजधानी दिल्ली, बैंग्लोर, पुना, मुम्बै, पञ्जाब, देहरादुन, हरिद्धार, राजस्थान, कुमाउ गड्वाल र सिमला लगायत स्थानमा नेपालीहरू मजदूरीका लागि जाने गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा यात्रुहरूको सहजताका लागि सीमा नाका क्षेत्रमा समेत गरेर प्रदेशका ४० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ ।