तस्करले हत्या गरि मारिएका धनगढीको जुगेडा वडा नम्बर १२ स्थित अस्थायी प्रहरी पोष्टका ईन्चार्ज गोविन्द विककी श्रीमति पुजा अझै पति वियोगमा रहेकी छिन् । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ की २१ बर्षीय पुजाले घटना भएको डेढ साता हुन लाग्दा पनि आफुलाई सम्हाल्न सकेकी छैनन् । उनको आश्रुधारा रोकिएका छैनन् । उनी छाती पिट्दै छिनछिनमा मुर्छित हुन्थिन् । बन्नै लागेको अधुरो घरको एक कुनामा भावविह्ल भएर पति वियोगमा छटपटिरहेकी छिन् उनी ।
जवानी छँदै पती वियोगले विक्षिप्त बनेकी उनको मुखबाट राम्ररी आवाज पनि आउदैन । बोल्न खोज्दा मन भक्कारिएर आँखाबाट आँसुको बर्षा गर्छिन् । पत्नी पूजाले जीवनको सूर्य नै सदाका लागि अस्ताएको अनुभुति गरिरहेकी छिन् । उनको सिउँदोको सिंन्दुर मात्रै पुछिएको छैन् उनको जीवन पनि वेसहरा बनेको छ । बुबाको हत्या भएपछि दुबै छोरीहरुको जीवनको छँहारी गुमेको छ । मृतक परिवारको यो कारुणिक दृष्यमा हर्षका सञ्चार हुने केवल दैवलाई थाहा होला ।
सबैका आँखा रसाएका छन् । प्रहरी चौकीका ईन्चार्ज सहायक प्रहरी निरिक्षक गोविन्द बिक र प्रहरी जवान टेकवहादुर बिक डिउटीकै क्रममा कार्तिक १ गते राति तस्करहरुबाट मारिएपछि उनीहरु दुबैको परिवार उजाडिएको छ । दुबै परिवार शोकमा डुबेका छन् । कार्तिक २ गते विहान मोहना नदीमा हत्या गरी फालेको अवस्थामा भेटिएका गोबिन्द कार्तिक ३ गते (सोमबार) कञ्चनपुरको दोदा नदीमा विलाए ।
असई बिक घटना भएको शनिबार साँझ मात्र धनगढी शिवनगर स्थित डेरामा श्रीमती र छोरीसँग भेट गरेर फर्केका थिए । दोस्रो दिन बिहान खाना खाने गरी आउँछु भन्दै डिउटीमा फर्किएका गोविन्द कहिल्यै नफर्किने गरी बिदा भए ।
उनले यसपालीको दशैंमा पुजाको गलालाई तिलहरीले सजाउने बचन दिएका थिए । यसअघि पटक पकट हुने फोन वार्तामा पनि दशैं आउने वेलासम्म तिलहरी किनि दिने भन्दै आएका थिए । तर गोविन्दले श्रीमतिका लागि तिलहरी किन्ने सपना पुरा गर्न सकेनन् । श्रीमानले आफ्नो रहर अधुरै राखेको भएपनि पुना सहन्नि होला । चित्त बुझाउँथिन होला । तर जीवनको सहारा नै गुमेपछि उनलाई सहन गाहे भएको हो । गलामा तिलहरी लगाउने अधुरै रहरमा अझ उनको सिउँदोको सिन्दुर पनि पुछिएपछि उनी निकै मर्माहित भएकी छिन् ।
असई विकको हत्यापछि पत्नी पूजा जीवनमा बज्रपात भयो । ६ वर्षीया छोरी आरोही र ३ वर्षीया छोरी आरुषीले पनि बाबाको न्यानो सहारा सदाको लागि गुमाए । विपन्न परिवारका एक्लो कमाइका स्रोत गोविन्दको निधनले उनको बन्नै लागेको नयाँ घरले तुरुन्तै छत नपाउने भएको छ । बिरामी भाई र बेरोजगार दाई पनि गोविन्दको दुःखद अवशानले टुहुरो झै भएका छन् ।