टीका र जमरा लगाउन नपाउँदा कैदीबन्दी निराश 
2020/10/26, 12:23
 
badi

कोरोना कहरले मान्यजनबाट टीका र आर्शिवाद थाप्न नपाउने भएपछि कैदीबन्दीहरुको दशैँ खल्लो भएको छ । कैलाली र कञ्चनपुर जिल्लाका कारगारमा रहेका कैदीबन्दीहरुले हरेक वर्ष कारागारमै मान्यजनबाट टीका, जमरा र आर्शिवाद ग्रहण गर्दै आएकोमा यस वर्ष भने कुनै पनि कार्यक्रम नहँदा उनीहरुको दशैँ खल्लो भएको छ । कोरोना संक्रमणको जोखिमका कारण मान्यजनबाट टीका जमरा लगाउने कार्यक्रम स्थगीत गरिएपछि कैलाली र कञ्चनपुर कारागारका कैदीबन्दीहरु निराश भएका छन् । 

संक्रमण फैलिन सक्ने भएकाले टीका, जमरा लगाउँदै आर्शिवाद दिन विगतमा जस्तो घर परिवारलाई खुल्ला नगरिएपछि विभिन्न निकायबाट प्राप्त भएका खसी र बोका काट्दै दशैँ मनाइरहेको कञ्चनपुर जिल्ला कारागारका जेलर मायाकुमार बस्नेत थापाले बताइन् ।
उनका अनुसार कञ्चनपुर कारागारमा सत्तमीका दिन  ८ बोका काटिएका थिए । ४ वटा खसी कैदीबन्दी मिलेर किनेका हुन् भने ४ वटा बाहिरबाट सहयोगमा मिलेका हुन् । कैदीबन्दीहरुमा टीका र जमरा लगाईएको छ ।

तर भएपनि आफन्तहरुले लगाउन नपाएका हुन् ।  गत विगतका वर्षमा कैदिबन्दीले कारागारमा नै हर्षोल्लासका साथ दशै मनाउदै आएका थिए । उनीहरुका मान्यजन दशैँमा कारागारमै पुगेर टीका र जमरा लगाउने गर्दथे । मौलिक परम्परा अनुसार नै कारागारहरुका दशैँ पर्व मनाउन गरिएको थियो । तर यसवर्ष भने कुनै पनि कार्यक्रमहरुको आयोजना गरिएको छैन् । जमरा, टीका लगाउन नपाईने भएपनि कारगाहरुले कैदीबन्दीका लागि सप्तमीदेखि नै मासुको प्रबन्ध मिलाईएको छ ।

कैलाली कारागारमा अहिलेसम्म ८ खसी काटिएका छन् भने कञ्चनपुर कारागारमा पनि ८ खसी काटिएका छन् । ४, ४ खसी बाहिरबाट सहयोग गरिएका हुन् भने बाँकी कैदीहरुले खरिद गरेका हुन् । कैलाली कारागारका जेलर महेन्द्र सिँह खड्काले अनुसार गत वर्षको जस्तो हर्षाेल्लास कैदीहरुमा नभएको बताए ।

‘आफन्तबाट टीका र जमरा लगाउन नपाएपछि उनीहरु निरासा भएका छन् । कोरोना भाइरसको त्रासले गर्दा दशैँका अन्य कार्यक्रम स्थगीत गरिएका छन् ।’ उनले भने, ‘तर भित्र भने जमरा लगाउन पाईएको छ । लगाएका पनि छन् । क्षमता भन्दा दोब्बर तेब्बर कैदीबन्दी भएकाले समेत जोखिम हुने भन्दै विशेष सावधानी अपनाईएको छ ।’