सन् २०१९ को डिसेम्बर अन्तिमबाट सुरु भएको कोरोना भाइरसको संक्रमणले विश्वभर चार करोडभन्दा बढी संक्रमित भएका छन् । ११ लाखभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालमा पनि कोरोना भाइरस संक्रमितको संख्या डेढ लाखभन्दा बढी पुगेको छ भने ८४२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । विश्वलाई आक्रान्त बनाएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । अझ नेपालीको महान् चाड दसैँको टीका आज घरघरमा लगाएर मनाइँदै छ ।
तर कोरोना महामारीमा जुधिरहेका डाक्टर र नर्सहरुले अघिल्लो वर्षको जसरी दसैँ मनाउँन छुट पाएनन् । अस्पतालमै बसेर बिरामीलाई कसरी हुन्छ निको बनाउने ध्याउन्न रहेको उनीहरु बताउँछन् । दसैँ आए पनि संक्रमितको संख्या दैनिक वृद्धि भइरहेकाले अस्पतालहरु खचाखच भरिएका छन् । कोरोना महामारीविरुद्ध चिकित्सक र नर्सहरु रातदिन लडिरहेका छन् । सेती प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालकी नसिर्ङ ईन्चार्ज सीमा शर्माले कोरोनाका कारण यसपटकको दसैँ आए जस्तो नभएको बताउँछिन् । उनले अघिल्लो दसैँ परिवारसँग रमाइलो गरेर मनाएकी थिइन् ।
अहिले कोरोनाका बिरामीको अवस्था हेर्दा निकै व्यस्त रहेको र खाना खाने समय पनि नपाएको उनी बताउँछिन् । उनले भनिन्, “अहिले कोरोना संक्रमण फैलिएको छ, यस पटक सबै सजग बन्नुपर्ने अवस्था छ । दसैँ अर्को पटक पनि आउँछ नि !” यस पटक उनको टिमले अस्पतालमै टीका लगाउने सल्लाह गरेको छ । ‘‘बिरामीको उपचारसँगै दसैँ मनाएका छौं । उनले जो जहाँ छ त्यहीं दसैँ मनाउन आग्रह पनि गरिन् । उनका अनुसार अहिले अस्पतालमा सिकिस्त बिरामीहरुको आउने क्रम बढेको छ । “पछिल्लो समय कोरोना संक्रमितको उपचारपछि पनि सुधार हुने दर निकै कम भएको छ । मृत्यु दर बढेको छ,” उनले भनिन्, “त्यसैले सबै सजग बनौं ।” कोरोनासँगै अन्य रोग पनि हुने भएकाले कोरोना संक्रमणबाट जोगाउन उस्तै चुनौती रहने शर्माले बताइन् ।
कोरोना विशेष अस्पतालमा नेतृत्व गरिरहेका डाक्टर निराजन दत्त शर्मा र डाक्टर सन्तोष पाण्डेय पनि यसपालिको दसैँ बिरामीको सेवा गरेरै मनाईरहेका छन् । उनीहरुलाई ६ जना मेडिकल अधिकृतले साथ दिएका छन् भने ७ जना नर्सिंग स्टाफ रहेका छन् । “गत वर्ष यस्तो अवस्था थिएन र दसैँमा परिवारसँग रमाइलो गरेर मनाएको थिएँ । यस पटक कोरोना महामारीले गर्दा दसैँ बिदा नभएकाले बिरामीकै सेवामा दसैँ मनाईरहेको छु,” डाक्टर पौडेलले बताए । ‘‘अरुहरु त घरमै परिवारसँग मनाउन पाउनुहुन्छ, तर हामीले त्यसरी मनाउँदा नपाउँदा अलिअलि दुःख लागे पनि बिरामीलाई उपचारपछि निको बनाएर पठाउँदा भने खुसी लाग्छ,’’ उनले भने ।
उनले कोरोनाबाट बच्ने उपाय राम्रोसँग पालना गर्ने, कोरोना संक्रमण भइहाले नआत्तिने, तनाव नलिने आराम गर्ने, सन्तुलित खाना खाने र समस्या बढ्दै गए तुरुन्तै अस्पताल जान पनि सुझाव दिए । “धनगढी त कोरोना संक्रमणको हटस्पट नै भएको छ,” उनले भने, “यहाँबाट बाहिर जाने व्यक्तिबाट अन्यमा सर्ने खतरा बढी हुन्छ । तसर्थ जो जहाँ छौं त्यही दसैँ मनाऔं ।”