निर्मला हत्याकाण्डका २७ महिना: प्रहरी अझै ‘क्लु’ कै खोजीमा
2020/10/27, 8:21
 
nirmala pant

०७५ साउन १० मा उखुबारीमा मृत भेटिएकी कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तको घटनाको अनुसन्धानले अझै पूर्णता पाएको छैन । भीमदत्तनगर २, उल्टाखामकी १३ वर्षीया निर्मलाको बलात्कारपछि हत्या भएको थियो । यो घटना भएको २७ महिना बितिसकेको छ ।

घटनास्थल उखुबारी नै भएको प्रहरीले निष्कर्ष निकाले पनि हत्यामा कसको संलग्‍नता थियो भन्‍ने ‘क्लु’ नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको छ । केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० र कञ्‍चनपुर प्रहरीको टोलीले अनुसन्धान जारी राखेको छ । 

गएको वर्षको साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ मा घरभन्दा डेढ किलोमटिर दूरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन् । निर्मला बलात्कारमा एकजनाको मात्रै संलग्‍नता रहेको अनुसन्धान र ‘भेजिनल स्वाब’ परीक्षणबाट पुष्टि भएको छ । अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन समयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारी बर्खास्तीदेखि निलम्बनसम्म परेका थिए ।

तर ती सबै अधिकारीले अदालतबाट सफाइ पाइसकेका छन् । अहिले अनुसन्धानमा सक्रिय रहेको टोलीले पुराना फाइल पल्टाउने, सूचना संकलन गर्नेलगायत काम गरिरहेको एक अधिकारीले बताए । यसअघि अनुसन्धान टोलीले सयौं शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्‍ने, कल डिटेल हेर्नेलगायत काम गरिसक्दा पनि हत्यारासम्म पुग्‍ने ‘क्लु’ भेट्टाउन सकेको छैन । प्रहरीले ७० जना बढीको ‘डीएनए’ परीक्षणसमेत गरिसकेको छ । तर कसैको पनि डीएनए ‘म्याच’ भएको छैन । 

निर्मला बलात्कार तथा हत्यामा चिनजानकै व्यक्तिको संलग्‍नता हुनसक्ने आशंका अनुसन्धानमा संलग्‍न अधिकारीले गरेका छन् । एक अधिकारीले भने, ‘‘चिनजानकै वा मानसिक अवस्था कमजोर भएको व्यक्तिले गरेको हुनसक्ने सम्भावना छ । कैयौं घटनामा नजिकैका आफन्त वा चिनजानकै व्यक्तिको संलग्नता पाइएको छ । सबै पक्षबाट अनुसन्धान गरिरहेका छौं ।’’ अनुसन्धानमा संलग्‍न प्रहरी टोलीले उपलब्ध स्रोत(साधनको प्रयोग गरे पनि ‘म्यानुअल’ पद्धतिमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ ।