धनगढी–राजघाट मोहना पुलको निर्माण ६ वर्षसम्म अधुरै
2020/10/28, 2:09
 
pool

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीबाट राजघाट जोड्ने मोहना नदीको पुल निर्माण सुरु भएको छ वर्ष हुँदा पनि अझै काम पूरा भएको छैन । धनगढी उप–महानगरपालिका वडा नम्बर ३ चटकपुरबाट कञ्चनपुरको राजघाट जोड्ने मोहना नदीको पुल ६ वर्ष सम्म निर्माण पूरा नभएको हो ।

तीन वर्षमा निर्माण सक्नेगरी २०७१ असारमा ठेक्का सम्झौता भएको थियो। तर ६ बर्षको अवधिमा ८० प्रतिशत काम मात्रै सकिएको छ । पछिल्लो सात महिनादेखि पुलको काम ठप्प छ । निर्माण कम्पनीको लापरवाहीका कारण प्रत्येक वर्ष राजघाट क्षेत्रका नागरिक जोखिम मोलेर धनगढी आउन बाध्य छन् ।

सडक डिभिजन कार्यालय कञ्चनपुरले तीन वर्षमा काम सम्पन्न गर्ने गरी २०७१ असारमा एलाइट एड्भेन्चर जेभीसँग ठेक्का सम्झौता गरेको थियो । एक सय २० मिटर लम्बाईको पुल सम्झौताको थप तीन वर्ष सकिदा समेत अधुरै रहेको हो । गत सात महिनादेखि पूल निर्माणको काम ठप्प रहेको छ । सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख अर्जुन कुमार बमले चैत महिनाको १५÷२० गतेपछि पुल निर्माणको काम रोकिएको बताए । ‘लकडाउन भएका कारण पुल निर्माण रोकिएको छ । निर्माण कम्पनीले उपकरण लगेर गएको छ ।’  निर्माण कम्पनीले तोकिएको समयमा काम पूर्ण नगरेपछि तीन पटक समय थपिएको छ ।

4

तेस्रो पटक समय थप गर्दा पनि भौतिक प्रगति ८० प्रतिशत मात्रै पुगेको छ । सात करोड ४२ लाखमा निर्माण सम्झौता भएको थियो । तर पुल निर्माणको सम्झौता भएको ६ वर्ष हुँदा पनि काम नसकिएपछि राजघाट क्षेत्रका स्थानीयलाई धनगढी ओहोर–दोहार गर्न भने सास्ती हुने गरेको छ । स्थानीय लोकराज ओझाले वर्षातको समयमा नदीबाट धनगढी जान समस्या हुने गरेको बताए । ‘राजघाटको बजार धनगढी हो । औषधी उपचारका लागि पनि धनगढी जान्छौ । एम्बुलेन्स पनि नदीबाट जाँदैन् । अत्तरिया हुँदै धनगढी जानुपर्ने हुन्छ ।’ उनले भने ।

चालु आर्थिक वर्ष २०७७ को माघसम्म पुल निर्माणको समय अवधि रहेको सडक डिभिजन कार्यालय  महेन्द्रनगरले जनाएको छ । 
सडक डिभिजनले भने माघसम्म निर्माणको काम पूर्ण हुने दावी गरेको छ । लकडाउनका कारण काम प्रभावित भएको र माघसम्म पुल निर्माणको काम पूर्ण हुने दावी सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुन बमको छ । ‘माघमा काम सक्नैपर्छ । पुरानो पुल हो । हामीले यो वर्ष महत्वपूर्ण रुपमा हेरेका छौं । काम सक्ने भन्ने थियो । तर भएन् । माघ भित्र नसकिए प्रचलित  कानून अनुसार कारवाही गछौँ ।’ उनले भने ।