सुदूरपश्चिमका पुराना कम्युनिस्ट नेता वीर बहादुर ठगुन्नाको निधन भएको छ ।क्यान्सरबाट ग्रसित उनको काठमाण्डौं मेडिकल कलेजमा उपचारका क्रममा बुधबार ६७ वर्षको उमेरमा निधन भएको हो । उपचारकै क्रममा केही दिनअघि उनलाई कोरोना संक्रमण पनि देखिएको थियो । कोरोना संक्रमण निको भएपछि उनको निधन भएको हो।
दार्चुलाबाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामीका अनुसार ठगुन्नाको बुधबार साँझ उपचारका क्रममा मृत्यु भएको हो । उनमा कोरोना संक्रमण देखिएपछि ६ दिनअघि मात्रै कोरोना निको भइसकेको थियो।
मुखको क्यान्सरबाट पीडित उनको नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार गरिएको थियो । पछिल्लो समय क्यान्सर निको हुने अवस्थामा रहेको उनले फेसबुकमार्फत जानकारी गराएका छन्।
विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका उनी बझांगमा स्थायी शिक्षकको जागिर छाडेर २०४८ पछि संक्रिय राजनीतिमा लागेका हुन् । ०४८ र ०५६ को निर्वाचनमा उनी दार्चुलाबाट प्रतिनिधिसभाका लागि तत्कालिन एमालेबाट उम्मेद्वार बनेका थिए।
दार्चुलाको मार्मा क्षेत्रमा जन्मिएका ठगुन्ना २०५४ मा जिल्ला विकास समिति दार्चुलाका उपसभापतिमा निर्वाचित भएका थिए । त्यतिबेला उनी एमालेको जिल्ला सचिव पनि थिए । एमालेको नवौं महाधिवेशनबाट उनी केन्द्रिय अनुशासन आयोगको सदस्य पनि निर्वाचित भएका थिए । समाज कल्याण परिषदको कोषाध्यक्ष समेत रहिसकेका ठगुन्ना पार्टी एकिकरणपछि निश्क्रिय जस्तै बनेका थिए।