धनगढीमा भारतीयलाई नागरिकताका लागि सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ
2020/10/30, 9:06
 
pakrau

धनगढीमा भारतीय नागरिकलाई नागरिकताका लागि सिफारिस दिएको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । भारतीय नागरिकलाई नागरिकताका लागि सिफारिस दिएको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको हो । भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकताको सिफारिस गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

जोशीले २०७५ साल फागुन २० गते वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । उनका अनुसार चौधरीले नक्कली बुवा बनेर भारतका अलियास अन्सारीलाई नागरिकता दिलाउन वडा कार्यालयबाट सिफारिस बनाएका थिए ।

अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन् । नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।