कैलालीको जानकी गाउँपालिकामा कुटपिट गरी युवकको हत्या गरिएको घटनामा संग्लनको आरोपमा थप ६ जना पक्राउ परेका छन् । घटनाको अनुसन्धानका लागि प्रहरीले थप ६ जनालाई पक्राउ गरेको छ । गएराती जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का २२ वर्षीय भरत तिमल्सिनाको कुटपिट गरी हत्या गरेको घटनामा अनुसन्धानका लागि थप ६ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
उनीहरुलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनास्थल र आसपासका उनीहरुलाई सोधपुछका लागि मात्रै पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले बताए । गएराती साढे १० बजेको समयमा जानकी गाउँपालिका वडा नम्बर ५ मा युवाहरुको कुटपिटबाट गम्भीर घाइते भएका तिमल्सिनाको नेपालगञ्जमा मृत्यु भएको थियो ।
उनलाई उपचारका लागि नेपालगञ्ज लगिएकोमा अस्पताल पुगाउने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए । तिमल्सिनाको कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले यसअघि स्थानीय मानबहादुर चैधरी, केशव टमटा र समर चौधरीलाई पक्राउ गरिसकेको थियो ।