कञ्चनपुरको मालुबेलामा सडेको अवस्थामा किशोर र किशोरीको शव फेला
2020/10/31, 12:36
 
death

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुबेलामा  जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीय सीता साउँदको शव भेटिएको हो ।

दुवै जना गत असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको र आज बिहान जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ” प्रवक्ता थापाले भने, “घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ ।”

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरिया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।