बैतडीको सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दी खुल्यो
2020/11/01, 6:59
 
Thh

 गत असोज २६ गतेदेखि बैतडीको सुर्नया गाउँपालिकामा गरिएको तालाबन्दी खोलिएको छ । जनप्रतिनिधि र स्थानीय संघर्ष समितिबीचको सहमतिपछि आइतबार ताला खुलेको हो । 

तत्कालका लागि साविककै ठाउँबाट काम सञ्चालन गर्ने र केन्द्रका विषयमा सर्वपक्षीय, सर्वदलीय छलफलबाट टुंगो लगाउने सहमतिपछि ताला खुलेको लिला उपाध्यक्ष बिष्टले बताइन । 

जनप्रतिनिधिका तर्फबाट उपाध्यक्ष लीला बिष्ट, वडा नम्बर ५ का कार्यवाहक वडा अध्यक्ष धनबहादुर मडै र संघर्ष समितिका तर्फबाट कृष्णबहादुर चन्द, प्रेम लुहार, रौलेश्वर प्रहरीचौकीका इन्चार्ज लगायतको सहभागितामा छलफल भएको थियो ।

केन्द्रका विषयमा असोज २८ गते भएको विवादमा गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्टसहित ५ जना प्रहरी, ६ जना संघर्षरत पक्ष, ३ जना अध्यक्षसँग रहेका व्यक्ति गरेर १४ जना घाइते भएका थिए । 

अहिले गाउँपालिकाको वडा नम्बर ५ स्थीत रौलेश्वर कठ्यागौँडमा अस्थाई केन्द्र रहेको छ । तर २०७६ पौष ९ मा कार्यपालिकाको बैठकले वडा नम्बर ५ कै पविता भन्ने ठाउँमा केन्द्र राख्ने निर्णय गरको थियो । अस्थाई केन्द्र रहेको ठाउँबाट अन्यत्र केन्द्र सार्न लागेको प्रति असन्तुष्ट रहेका व्यापारी र स्थानीयबासिन्दाले बिरोध गर्दै आएका थिए ।