सुदूरपश्चिममा थप ७६ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमा कैलालीका ६६ जना रहेका छन् । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा १ सय ७८ जनाको परीक्षण गरिएकोमा ७६ जनामा संक्रमण पुष्टि भएको हो । कैलालीको धनगढी उपमहानगरपालिकाका ३९ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।
उपमहानगरपालिकाको वडा नम्बर ४ का ९ जना, वडा नम्बर ५ का ८ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर ६ र ७ का एक एक जना, त्यसैगरी ठेगाना नखुलेका ६ जनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । कैलालीकै टीकापुर नगरपालिकाका १७ जना, घोडाघोडी नगरपालिकाका ४ जना, गोदावरी नगरपालिकाका ३ जना र गौरीगंगा नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै कैलालीकै ठेगाना नखुलेका ३ जना संक्रमित समेत थपिएका सूचना अधिकारी श्रेष्ठले बताए । उता कञ्चनपुरको कृष्णपुर नगरपालिकाका २ जना र भीमदत्त नगरपालिका र पुर्नवास नगरपालिकाका एक एक जनामा समेत संक्रमण फेला परेको छ । अछामका २ जना, डोटीका २ जना, बैतडीको दशरथचन्द नगरपालिका र डडेल्धुराको परशुराम नगरपालिकाका एक एक जनामा समेत संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए ।