सुदूरका पहाडी रुटमा यसरी ठगिन्छन् यात्री, बस चालक र होटल व्यवसायीबिच हुन्छ बार्गेनिङ
2020/11/03, 5:33
 
Thagi

 बाटोमा सञ्चालन हुँदै आएका होटल व्यवसायीले खाना तथा नास्ताको मनपरी रकम असुल्न थालेका छन् ।

कोरोना भाइरसका कारण करीब ६ महिनाको बन्दाबन्दीपछि यातायातका साधन खुलेसँगै होटल रेस्टुरेन्ट पनि खुलेपछि यातायात कर्मचारी र होटेल व्यावसायीको मिलेमतो खाना र नास्तामा यात्रुसँग मनपरी रकम असुल्न थालिएको हो । कोरोना भाइरसकै कारण थला परेको अर्थतन्त्र बिस्तारै चलायमान हुन थालेको अवस्थामा व्यवसायीले मनपरी खानाको पैसा लिन थालेपछि यात्रु मर्कामा परेका छन् ।

कैलालीको टीकापुरबाट अछाम हिँडेका गोविन्द सोडारीले एक खानाको २०० तिर्नुप¥यो । विसं २०७६ चैत १० गते अछामबाट टीकापुर आउँदा उनले बाटोमा सादा खानाको १५० तिरेका थिए । उनका अनुसार बस चालकले जोरायल गाउँपालिका डोटीको गैरामा एकमात्र होटल भएको ठाउँमा बस पार्किङ गरेर खाना खान भन्यो । त्यहाँ अर्को कुनै विकल्प पनि थिएन । अर्को होटलमा जाने वा खानाको सट्टा खाजा पाउने ।

“दुई रोटीको २०० तिर्नु प¥यो”, गोविन्दले भने, “नखाउँ पेटले मागेको छ, खाउँ दुई रोटीको २०० ।” उनले मानिससँग पैसा नभएको बेला हुने यस्तो कालोबजारी रोक्न राज्य जिम्मेवार हुनुपर्ने बताए । उक्त होटल कुनै आधिकारिक निकायमा दर्तासमेत नभएको पाइएको छ ।

 यस्तै अछामबाट रोजगारीको सिलसिलामा भारत हिँडेका प्रेमबहादुर विकले होटेल व्यवसायीसँग झगडा नै गर्नु प¥यो । राति साढे ११ बजे बस चालकले डडेल्धुराको भातकाँडा एक होटेलमा खाना खानका लागि भन्दै बस पार्किङ ग¥यो । त्यहाँ एक होटेलभन्दा अर्को कुनै पसलसमेत थिएन । उनीसँग सीमित पैसा थियो । त्यही पैसाले उनले भारत पुग्नु पनि थियो भने बाटोमा खाना खानु पनि । उनले मासु र खानाको कुपन मागे । एक हजार दिए । पैसा छुट्टा नभएपछि होटल सञ्चालकले पछि लिन भने । प्रेमले खाना खाए र पैसा फिर्ता माग्दा उनलाई ५१० मात्र फिर्ता दिइयो ।

पैसा कम दिएपछि मैले होटल सञ्चालकलाई सोधे, “मटन खानाको ४९० रहेछ ?”, उनले भने, “२८० मा पाइने खानाको बन्दाबन्दी खुलेसँगै २१० बढिसकेको रहेछ ।” त्यति मात्रै होइन, बस चालकले होटल व्यवसायीसँग पहिले नै पैसाको समेत बार्गेनिङ गर्ने गरेका छन् । बसका यात्रुअनुसार एक हजारदेखि तीन हजारसम्म बस रोकेर यात्रुलाई खाना खुवाएबापत चालक र बसका अन्य कर्मचारीहरुले पाउने गरेका छन् । 

अछामबाट धनगढीका लागि छुटेको खप्तड मालिका यातायातको १७३ नं बसका कर्मचारीले होटेल सञ्चालकसँग यात्रुलाई खाना खुवाएबापत दुई हजार फोन गरेर माग गरेको प्रेमले बताए । पहिले होटेल सञ्चालकले खानाको कुपन दिने र त्यस कुपनमा रेटसमेत उल्लेख हुने तर, अहिले कुपनको सट्टा होटेलको भिजिटिङ कार्डलाई कुपन भनेर ग्राहकलाई दिने गरेका छन् । त्यही भिजिटिङ कार्डमा कुनै रेट लिस्टसमेत उल्लेख गरिएको हुँदैन ।

डोटीको जोरायल गाउँपालिका–१ गैरामा न्यू रेश्मा होटल एन्ड लज सञ्चालन गर्दै आएका लालबहादुर मल्लले कुपनको सट्टा दिएको भिजिटिङ कार्डका बारेमा बुझ्न खोज्दा उल्टै ग्राहकसँग झगडा गरे । 

अन्तिममा एकजना ग्राहकले आफ्नो वास्तविक पेशागत परिचय दिँदा भने होटल सञ्चालकले खाना निःशुल्क खुवाउने भन्दै अरू ग्राहकलाई नभड्काउन आग्रहसमेत गरे । उनले खानाको रेट लिस्ट माग्दासमेत दिन चाहेनन् भने ६ महिनाको बन्दाबन्दीको समस्या देखाउँदै बाध्य भएर खानाको दर बढाउनु परेको स्वीकार गरेका छन् ।