दार्चुलामा प्रधानाध्यापक मृत अवस्थामा भेटिएपछि महाकाली राजमार्ग अवरुद्ध गरिएको छ।
बैतडीको डिलाशैनी गाउँपालिका–२ स्थित डाडाबाग आधारभुत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेपछि उनका आफन्तले घटनाको सत्यतथ्य छानविनको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन्। उनीहरुले गोकुलेश्वरमा टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन् ।
मृतकको शरिरमा निलडाम र घाउ रहेकोले हत्या गरेर फालेको आफन्तको आशंका रहेको छ । उनीहरुले सत्यतथ्य छानबिन तथा दोषीलाई पक्राउ नगर्दा शव समेत नबुझ्ने अडान लिएका छन् ।
अहिले आफन्त र प्रहरी प्रशासनबिच छलफल भइरहेको छ ।
प्रधानाध्यापक घरडीको शव दार्चुलाको शैल्यशिखर नगरपालिका ९ शिवपुरी धाम नजिक फेला परेको प्रहरीले जनाएको छ । घरडीसंगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएका भएपनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ । घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे उनी मृत अवस्थामा फेला परेका हुन् ।
प्रहरीको टोली घटनास्थलमा रहेको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।