धनगढी बसपार्कमा रहेको एक होटेलमा गए राती छापा मारी प्रहरीले होटेल मालिक सहित ६ जनालाई पक्राउ गरेको छ । राती करिब १ बजे बसपार्कमा रहेको होटेल न्यु बडी केदारका सञ्चालक टेकेन्द्र बडैला सहित ६ जनालाई पक्राउ गरीएको प्रहरीले जनाएको छ । तीन जना युवतीलाई धनगढीको एउटा होटेलमा राखिएको र उनीहरूलाई त्रिनगर नाका भएर बेचबिखनका लागि भारत लगिँदै छ भन्ने सूचनाका आधारमा खोजबिन गर्दै जाँदा राती होटेलबाट उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
बेच्न लगिएका भनिएका १७ वर्षका दुई र १९ वर्षका एक युवति छन् । उनीहरू मध्ये दुई जना सर्लाही र एक जना सिन्धुलीका हुन । होटेल सञ्चालक र अर्का एक युवक र युवतीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पक्राउ परेका धनगढीका एक युवक र युवतीले तिन युवतिलाई बेच्नका लागी भारत लैजान लागेको बताइएको छ । होटेल मालिक लाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
बेच्न लैजान लागिएका भनिएका अन्य तीन युवतीलाई शान्ति पुर्नस्थापना केन्द्रको सेफ हाउसमा राखिएको छ । घटनाबारे थप सोधपुछ र अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए । होटेलबाट केही मात्रामा चरेश समेत बरामद भएको छ ।