धनगढीमा भारतीयलाई नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष भन्छन्– ‘मलाई झुक्काईयो’ 
2020/11/05, 10:39
 
nagarikta

धनगढीमा भारतीयलाई नागरिकताको सिफारिस दिने वडाध्यक्षले आफुलाई झुक्काईएको बताएका छन् । धनगढीमा भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष गणेशप्रसाद जोशीले आफुलाई गुम्राहमा राखेर झुक्काउँदै नागरिकताको सिफारिस लिएको बताएका हुन् ।

२०७५ साल फागुन २० गते वडा नम्बर १२ का वडाध्यक्ष जोशीले नागरिकताका लागि सिफारिस गरेका थिए । सिफारिस गरिएको दिनभन्दा अघिल्लो दिन उनका नक्कली दाजु बनेर खुशीराम चौधरी आएको र उनले आफ्नो भाई भएको भन्दै नागरिकताको फोटोकपी राखेर सिफारिस मागेको वडाध्यक्ष जोशीको भनाई छ । पहिलो दिन सिफारिस नगरिएपछि दोस्रो दिन २०७५ सालको फागुन २० गते पुनिराम चौधरीले आफ्नो कान्छा छोरा भनेर आफैं आएर नागरिकताको फोटोकपी राखेपछि सिफारिस दिएको उनको भनाई छ ।

‘८२ बर्षका पुनिराम चौधरी आफैं आएर मेरो कान्छो छोरा अनिस चौधरी हो भने । उनी विरामी पनि थिए । वडा कार्यालयमा उनलाई अटोमा हालेर ल्याईएको थियों ।’ वडाध्यक्ष जोशीले भने–‘उनले आफ्नो कान्छो छोरा हो भनेर भनेपछि त्यति बुढो मान्छेले भनेको कुरामा विश्वास लाग्यो । सँगै आएका उनका छोरा वुहारीले पनि कान्छो भाई हो भनेर दुवै जनाले नागरिकताको फोटोकपी राखे । दुवै जना वडा नम्बर १२ कै वासिन्दा र यही वडाबाट नागरिकता लिएकाको भएर भनेपछि मलाई सबै कुराहरु लुकाएर सिफारिस लगेका हुन् ।’
उनले सिफारिसका लागि कुनै लेनदेन नभएको दावी गरे । लेनदेनमा सिफारिस गरेको भए आफु कारवाही भोग्न तयार रहेको उनको भनाई छ । 
अदालतमा नक्कली बनेका दाजु भाउजुले पनि वडाध्यक्षको संग्लनता नरहेको र कुनै लेनदेन नभएको र आफुहरुले एक लाख रुपैयाँ लिएको वयान दिएका छन् । सोही आधारमा वडाध्यक्षलाई अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो । यदपी मुद्धाको फैसला भने हुन बाँकी रहेको छ ।