डोटीमा बलात्कारपछि किशोरीलाई गर्भवती बनाएको आरोप लागेका शिक्षक तारेखमा छुटे
2020/11/07, 2:52
 
doti

छात्रालाई बलात्कार गरेको आरोप लागेका शिक्षकलाई जिल्ला अदालत डोटीले धरौटी लिएर तारेखमा छोडेको छ । जिल्लाको केआईसिंह गाउँपालिका–४ की १९ वर्षीया किशोरी गर्भवतीसमेत थिइन् ।

गाउँकै झिमेमालिका माविका शिक्षक सोफीनाथ भट्टले बलात्कार गर्दा गर्भ बसेको किशोरीले बताएकी छन् । कारागार पु¥याउनुपर्ने व्यक्तिलाई अदालतले तारेखमा छोडिदिँदा अन्याय भएको पीडितको गुनासो छ ।

जिल्ला अदालत डोटीका न्यायाधीश विदुर काफ्लेको इजलासले बुधबार भट्टलाई तीन लाख धरौटीमा छाड्न आदेश दिएको हो । कात्तिक १ गते जिल्ला अस्पताल डोटीमा परीक्षण गर्दा किशोरीको पेटमा १३ साता ४ दिनको भ्रूण रहेको पुष्टि भएको थियो ।

उनले काठमाडौं गएर गर्भपतन गराइसकेकी छन् । जिल्ला अदालतको फैसला चित्त नबुझेपछि उच्च अदालतमा पुनरावेदन गरेको सरकारी वकिलको कार्यालय डोटीका न्यायाधिवक्ता पूर्णबहादुर केसीले बताए ।

जिल्ला न्यायाधीश काफ्लेले ‘प्राप्त प्रमाणका आधारमा प्रतिवादी भट्ट कसुरदार रहेको विश्वास गर्ने ठाउँ भए पनि उनी शारीरिक अशक्त हुनुका साथै अभियोग र अधिकतम सजायलाई आधार मानेर थुनामा राख्नुपर्ने आवश्यकता नरहेको’ उल्लेख गरेका छन् ।