साँफेबगर मार्तडी सडक खण्ड ५ महिनासम्म पनि खुलेन, अझैं तीन महिना लाग्ने 
2020/11/08, 9:14
 
sadak

बर्खाको समयमा बन्द भएको साँफेबगर मार्तडी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । साँफेबगर मार्तडी सडकखण्डको बलेना जड्ङामा बुढीगंगा नदीले ५० मिटर लामो बेलिब्रिज बगाएकाले यो सडकखण्ड सञ्चालनमा आउन नसकेको सडक विभागले जनाएको छ । विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार यो सडकखण्ड सञ्चालनमा आउन अझै २ देखि ३ महिना लाग्न सक्छ ।

बेलिब्रिज नै फेरि बनाउनुपर्ने भएकाले समय लाग्ने उनको भनाइ छ । अहिले बेलिब्रिज निर्माणका लागि ठेक्का आह्वान भइसकेको छ । अब निरन्तर काम भएमा २ देखि ३ महिनामा फेरि गाडी गुड्ने उनले बताए । यसवर्ष भदौसम्म नै निरन्तर पानी पर्ने र पहिरो जाने समस्या भएका कारण  बन्द भएका सडकखण्डमा पुगेर अनुगमन गर्न समस्या भएको उनको भनाइ छ ।

बेलिब्रिज बनाउन सामान लैजाने बाटोसमेत नभएकाले र मर्मत गर्दै पुग्नुपर्ने अवस्था भएकाले समयमै ठेक्का आह्वान गरेर काम थाल्न नसकिएको उनको भनाइ छ । साँफेबगर मार्तडी सडकखण्ड असार २६ गतेदेखि बन्द छ । यो सडकखण्डको अरु विकल्प नभएकाले मानिसहरुले झोलुङ्गे पुल तरेर, अर्को ठाउँमा गएर गाडी चढ्नुपर्ने बाध्यता छ ।

आंशिक रुपमा सञ्चालनमा आएका एक सय १२ वटा सडकखण्ड भने भौगोलिक हिसाबले सधैँजसो पहिरो खसिरहने ठाउँका भएकाले बनाएपछि केही दिन गाडी चल्ने र फेरि बन्द हुने क्रम चलिरहने सडक विभागका महानिर्देशक शर्माको भनाइ छ ।