पटाका लगायत अवैध सामान नियन्त्रण गर्न सीमा क्षेत्रमा प्रहरीको गस्ती
2020/11/08, 9:39
 
corona

प्रहरीले भारतसँग सीमा जोडिएको क्षेत्रमा पछिल्लो समयमा गस्ती बढाएको छ । सीमा नाका झुलाघाट बन्द रहेको अवस्थामा पनि भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम नरोकिएपछि सीमा क्षेत्रमा गस्ती बढाएको  जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

सीमानाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतीय सामान अवैध रुपमा आउन थालेपछि  सीमा क्षेत्रमा गस्ती टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।  महाकाली नदी क्षेत्रको शेरा, पञ्चेश्वर, शिवनाथ लगायतका क्षेत्रमा प्रहरीको गस्ती टोली परिचालन गरिएको हो ।  तिहार नजिकिएसँगै अवैध रुपमा पटाका लगायतका प्रज्वलनशिल पदार्थ पनि भित्रन सक्ने भन्दै सीमाक्षेत्रमा कडाई गरिएको उनले बताए ।  

बैतडीमा बन्दाबन्दीको अवस्थादेखि अहिलेसम्म भारतबाट अवैध रुपमा भित्र्याइएको १३ लाख रुपैयाँ बढीको सामान बरामद गरिएको छ । बरामद गरिएको सामान, गाडी र तस्करहरुलाई आवश्यक कारबाहीको लागि झुलाघाट र गड्डाचौकी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।