कैलालीका किसानलाई माग बमोजिम धानको बीउ आपूर्ति भएन
2020/05/27, 4:42
 
dhan

कैलालीमा किसानलाई मागबमोजिम धानको बीउ आपूर्ति हुनसकेको छैन .विगत वर्षमा धानखेती गर्ने समयमा बीउको खपत कम भए पनि यस वर्ष माग बढेर पूर्ति गर्न नसकेको बीउ उत्पादक सहकारी तथा कम्पनीले जनाएका छन्। अघिल्ला वर्ष सीमापारि भारतीय बजारबाट धानको बीउ ल्याएर किसानले छर्ने गर्दथे। यो वर्ष कोरोना भाइरस न्यूनीकरण तथा नियन्त्रणका लागि सीमानाका बन्द छन्।

नाका बन्द हुँदा भारतीय बजारबाट बीउ खरिद गर्न नपाउँदा यहाँका सहकारीलाई बीउ आपूर्तिमा समस्या भएको छ। यतिखेर किसानका माग बढेर पूर्ति गर्न नसकेको बीउ उत्पादक सङ्घ तथा बीजवृद्धि कृषि सहकारी मुनुवाका अध्यक्ष रामफल कठरियाले बताए। “धानको बीउको माग आफूहरुसँग भएको भन्दा तेब्बर बढी छ”, अध्यक्ष कठरियाले भने “कसरी धान्नु ? हामीसँग दुई हजार क्विन्टल धानको बीउ मौज्दात थियो, सकियो। माग थेग्न कठिन छ।”

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा ११ सहकारीले बीउ उत्पादनको काम गर्छन्। उनीहरुसँग पाँच हजार क्विन्टल धानको बीउ छ। यही बीउ बजार र  किसानलाई पूर्ति गर्ने गरेका छन्। यस वर्ष किसानका माग धेरै आएकाले धानको बीउ खोज्दै आउने किसानलाई फर्काउनुपरेको सहकारी सञ्चालकको भनाइ छ।

स्थानीय क्षेत्रसँगै बाह्य क्षेत्रबाट बीउको माग धेरै आएको नमूना बहुउद्देश्यीय सहकारीका अध्यक्ष जीतबहादुर चौधरीले बताए। “किसानको माग अन्य धानभन्दा सर्जु ५२ जातको छ”, अध्यक्ष चौधरी भन्छन्, “विगतका वर्षभन्दा यस वर्ष मागबमोजिम किसानलाई दिन सकिएको छैन। बीउ नपाएपछि धेरै किसानले गल्ला मण्डीसँग खरिद गरेको धानलाई समेत बीउका रूपमा प्रयोग गर्न थालेका छन्।”

टीकापुर र जानकीमा करिब साढे तीन सय हेक्टरमा धानबालीको बीउ उत्पादन हुने गरेको छ । रानी जमरा कुलरिया सिँचाइ आयोजनाको अनुदान सहयोगसँगै बीउ उत्पादक कम्पनी तथा सहकारीले आफ्नो लगानीमा बीउ उत्पादन गरिरहेका छन्।  बीउमा माग बढ्दै जाँदा खेती विस्तार गर्नुपर्ने आवश्यक भएको बीज वृद्धि कृषि सहकारीका अध्यक्ष कठरिया बताउँछन्। “किसानले बीउ पाउन कठिन भएको छ”, कठरिया भन्छन् “किसानको माग हेर्दा अब कृषि सहकारीले बीउ उत्पादनमा बढी जोड दिनुपर्ने देखिएको छ।” उन्नत तथा गुणस्तरीय बीउको प्रयोगले उत्पादनमा वृद्धि हुने भएकाले धेरै किसानले नयाँ उन्मोचित धानको बीउ प्रयोग गर्ने गर्दछन्।  रासस