नक्कली बैंक ग्यारेन्टी बनाउने निर्माण व्यवसायी पक्राउ
2020/11/09, 6:35
 
nakkali

डडेल्धुरामा नक्कली बैंक ग्यारेन्टी बनाएर भुक्तानी लिएका निर्माण व्यवयायी पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोहरा निर्माण सेवाका प्रोपराईटर लोकबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  

उनलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले शनिबार पक्राउ गरेको थियो । आवश्यक कारवाहीका लागि बोहरालाई डडेल्धुरा ल्याइएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बताए । घटना सम्बन्धी अनुसनधान भइरहेको उनले बताए । 

बोहरा निर्माण सेवा परशुरामले परशुराम नगरपालिकाको वडा नम्बर ५ को वडा कार्यालय भवनको ठेक्कामा नक्कली बैङ्क ग्यारेन्डी बनाएर १० लाख भुक्तानी लिएको थियो ।

नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाले बोहरा निर्माण सेवाले नक्कली बैङ्क ग्यारेन्टी बनाएको भन्दै किटानी जाहेर दिएपछि बोहरा निर्माण सेवाका प्रोपराईटर बोहरालाई पक्राउ गरिएको  हो ।