फूल खेतीमा जमेका सीतारामः एक सिजनमा तीन लाखसम्म कमाउँन्छन
2020/11/09, 6:49
 
fool

टीकापुर, केराको परिकारका लागि प्रख्यात छ । व्यावसायिक केरा खेती र केराको परिकार बनाउने कार्य गरेर कालु हमालले टीकापुरलाई केराको पर्यायको रुपमा चिनाएका छन् । टीकापुर भनेपछि जो कोहीले हमालको ‘बनाना रिसोर्ट’ मा पाइने केराको परिकार वा केराको परिकार भन्ने बित्तिक्कै टीकापुरलाई सम्झने गर्दछन् । तर, टीकापुरको चिनारी अब केराको परिकारमा मात्रै सीमित छैन । व्यावसायिक फूल खेती त्यसमा थपिएको छ । टीकापुर नगरपालिका–१ वनगाउँका कृषक सीताराम चौधरीले विगत चार वर्षदेखि व्यावसायिक फूल खेती गरेर टीकापुरको चिनारीमा थप एउटा नयाँ आयाम थपेका हुन । अब टीकापुरको लागि केरा ब्राण्ड हो भने फूल खेती नयाँ चिनारी । 

केराका लागि प्रख्यात टीकापुरलाई मान्छेले फूल उत्पादन हुने नगरको रुपमा पनि चिन्न थालेका छन् । ‘मलाई विभिन्न ठाउँमा मान्छेले फूल किसानको रुपमा चिन्न थालेका छन्’, कृषक चौधरीले भने । ‘कालु हमाललाई केरा किङ भने जस्तै, मलाई फ्लावर किङ भन्ने गर्दछन् ।’ उनले व्यावसायिक पुष्प खेती गरेर नाममात्रै कमाएका छैनन् । आफूले सोचेंभन्दा बढी दाम पनि कमाइ रहेका छन् । एकै सिजनमा फूल बिक्री गरेर तीन लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछन् ।

‘यो वर्ष पनि त्यति नै आम्दानी हुने अपेक्षा गरेको छु’, चौधरीले भने । उनको खेतबारीमा अहिले ढकमक्क फूलेको छ, सयपत्री र मखमली फूल । यो दृश्यले जो कोही पनि मन्त्रमूग्ध भइरहेका छन् । चार वर्ष अगाडि धान खेती मासेर खेतमा उनले खेतमा फूल रोपे । चौधरीको यस्तो काम देखेर गाउँवासी चकितमात्रै परेनन्, प्रश्नसमेत गर्न थाले । धान लगाउने खेतमा फूल रोपेर, गुजारा होला र ? त्यो बेला उनले प्रश्नको जवाफ दिन सकेनन् । तर, पछाडि हटेनन्, आफ्नो कामबाट पनि । दत्तचित्त भएर फूल खेतीमा लागि रहे ।  

अहिले त्यहि फूल खेतीले उनको जीवनमा खुशीको रङ्ग भरेको छ । व्यावसायिक फूल खेती गरेर उनले नाम र दाम दुवै कमाइ रहेका छन् । ‘फूल खेतीको व्यवसाय फष्टाएपछि अब त म झन उत्साहित भएको छु’, कृषक चौधरीले भने । ‘यो खेतीले गुजारामात्रै हैन, गतिलो आम्दानी हुने गर्दछ ।’  यो वर्ष उनले आठ कट्ठा जमिनमा सयपत्री र मखमली फूल लगाएका छन् । तिहार आउन थालेपछि अहिले उनलाई फूल टिप्न र माला बनाउन भ्याइ नभ्याइ भएको छ । तिहारका लागि मखमली फूलको माला बनाउने कार्यमा अहिले जुटेको चौधरीले बताए । त्यसो त, सयपत्री फूल र माला किन्नका लागि पनि दैनिक विभिन्न ठाउँबाट मान्छेहरु आउने गरेका छन् ।  

‘दिनमा पाँच÷छ हजारदेखि बढीमा १० हजार रुपैयाँसम्मको फूल र माला बिक्री भइरहेको छ’, उनले भने । कृषक चौधरीले अघिल्लो वर्षसम्म अलि बढी जमिनमा फूलखेती गरेका थिए । यो वर्ष कोरोना प्रभावका कारण फूल बिक्री नहुने आशङ्काले उनले आठ कट्ठा जमिनमात्रै फूल रोपे । यद्यपि, कोरोनाको कारण फूलको व्यापारमा खासै असर परेन । ‘औपचारिक कार्यक्रमहरु नभए पनि विभिन्न सरकारी कार्यालयहरुले फूल र माला खरिद गरिरहेका छन्’, उनले अगाडि थपे । ‘त्यति बिक्री हुन्न कि भन्ने आशंका थियो, अब माग अनुसार कसरी पु¥याउने भन्ने चिन्ता भइरहेको छ ।’ फ्लोरी कल्चर एशोसिएसनले भारतबाट फूल आयातमा रोक लगाएपछि यता उत्पादित फूल माग अनुसार सबैलाई पु¥याउन हम्मे हम्मे भइरहेको चौधरीले उल्लेख गरे ।  

1

विगत वर्षमा उनले वर्षमा दुई सिजनसम्म फूल रोप्ने गर्दथे । यो वर्ष भने एक सिजनका लागिमात्रै भदौमा रोपेर अहिले फूल बिक्री गरिरहेका छन् । दाङ्, बाँके, बर्दिया, बझाङमासमेत आफ्नो फूल गइरहेको उनले बताए । ‘टीकापुर र कैलालीमात्रै फूलको बजार होइन, यतामात्रै बिक्री गरेर केही हुन्न’, चौधरीले भने । ‘लुम्बिनी प्रदेशको विभिन्न जिल्ला र हाम्रो प्रदेशको पहाडी जिल्लामा पनि पठाइरहेको छु ।’ गत वर्ष चौधरीले पाँच लाख रुपैयाँ बराबरको फूलको कारोबार गरेका थिए ।

सबै खर्च कटाएर करिब तीन लाख जति आम्दानी भएको उनले सुनाए । यो वर्ष खुद्रामा फूल प्रति किलोग्राम ४५० र प्रति माला सय रुपैयाँमा बिक्री गरिरहेको चौधरीले जानकारी दिए । फूल मान्छेको जन्मदेखि मृत्यु पर्यन्तसम्म विभिन्न संस्कारमा काम लाग्ने चिज हो । विभिन्न कार्यका लागि पहिले फूल मागेर काम चले पनि अब भने मान्छेले किन्नु पर्ने अवस्था सृजना भएको छ । फूलको माग बढ्दै गएकाले पुष्प खेतीमा झनै उत्साह बढेको कृषक चौधरीले सुनाए । ‘यसको स्कोप बढ्दै गएकोले धेरै खुशी छु ।’ 

कृषक चौधरीले विभिन्न ठाउँको अवलोकन भ्रमण, बजार क्षेत्रको पहिचान गरेर मात्रै व्यावसायिक फूल खेतीमा हात हालेका हुन । उनले २०७५ सालबाट व्यावसायिक फूल खेती गर्दै आएका छन् । अहिले चौधरीको घरपरिवारका सबै सदस्य फूलखेतीमा स्वरोजगार भएका छन् । यतिमात्रै नभइ रोप्न, गोडमेल गर्नदेखि लिएर माला बनाउनका लागि स्थानीयलाईसमेत रोजगारी प्रदान गर्दै आएको चौधरीले गरे । 

विदेश भ्रमणको अवसर
सुदूरपश्चिममै अग्रणी फूल कृषकको पहिचान बनाएका सीताराम चौधरीलाई विदेशमा गएर पुष्प खेतीको अवलोकन गर्ने अवसर प्राप्त भएको छ । हल्याण्ड जानका लागि अवसर प्राप्त भएको उनले जनाए । ‘फूल खेतीको अवलोकन भ्रमणका लागि सीटीइभीटीइले हल्याण्ड लैजान लागेको हो’, चौधरीले भने । ‘तर, युरोपमा फेरी लकडाउन भएकाले रोकिएका छौं । उता खुल्ला हुने बित्तिक्कै जान्छौं ।’