साँफे–मार्तडी सडकखण्ड पुल नबन्दा चार महिनादेखि बन्द
2020/11/10, 11:31
 
sadak

अछाम र बाजुराको साफे मार्तडी सडकखण्डमा पर्ने जडांकमा रहेको बुढीगंगा नदीमा पुल नबन्दा यातायात सञ्चालन हुन सकेको छैन । गत २५ साउनमा आएको बाढीले बुढीगंगा नदीमा रहेको बेलिब्रिज पुल बगाएपछि यो खण्ड सुरु हुन सकेको छैन ।

पुल नबन्दा यो सडकखण्डमा लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । पुल बगाएको चार महिना बितिसक्दा पनि पुल निर्माणमा जनप्रतिनिधि र अन्य सरोकारवालाको चासो नगएकोमा स्थानीय चिन्तित छन् । उनीहरू सकसपूर्ण यात्रा गर्न बाध्य भइरहेका छन् । यातायात नचल्दा बाजुरालगायत छिमेकी जिल्ला हुम्ला, जुम्ला, मुगुका यात्रुलाई समेत सकस भएको नागरिक अगुवा शेरबहादुर शाहीले बताए ।

२५ साउनको भीषण वर्षापछि आएको बाढीपहिरोले बेलिब्रिज बगाउनुका साथै बाजुराका अधिकांश सडक भत्काएको थियो । त्यसको क्षतिको अवलोकन गर्न गृहमन्त्री रामबहादुर थापा बादलको टोली नै आएको थियो । त्यसक्रममा मन्त्री थापाले एक महिनाभित्र बेलिब्रिज निर्माण गर्ने र यातायात सञ्चालन गर्ने घोषणा गरेका थिए । तर, चार महिना बितिसक्दासमेत पुल निर्माणमा कुनै प्रगति भएको छैन ।