चुल्हो नै नबल्ने भएपछि सुदूरपश्चिमका नाकामा भारत जानेको भिड
2020/11/23, 7:40
 
bharat jane

सुदूरपश्चिमका नाकामा मजदुरी गर्न भारत जानेको भिड बढेको छ। दशै र तिहारको मुखमा समेत भारततिर जाने लाम नरोकिएको सुदूरपश्चिमका मुख्य दुई नाका त्रिनगर र गड्डाचौकीमा चाडपर्व सकिएपछि मजदुरी गर्नेको भिड अझ बढेको हो। स्वदेशमा कुनै रोजगार र आम्दानीको श्रोत नहुँदा चल्हो नै बल्न बन्द भएपछि ठूलो संख्यामा मजदुरीको लागि भारततिर जान बाध्य भएका हुन्। भारततिर जाने सवैको एउटै जवाफ छ, ‘याहाँ रोजगारी छैन, बालबच्चा भोकै त मर्नु दिनु भएन, त्यही भएर वाध्यताले मजदुरी गर्न जादै छुँ।’

बिश्वव्यापी महामारी रुपमा फैलिएको कोरानाको संक्रमण देखिन थालेसँगै भारतका बिभिन्न शहरमा मजदुरी गर्ने दशौ हजार ‘मरेपनि आफै भूमिमा मरुलाु भनेर घर फर्केका थिए। त्यतिवेला नाकामा घर फर्कनेहरु सवैको मुहारमा उत्साह देखिन्थ्यो। तीन तहका सरकार भएका वेला स्वदेशमै दुई छाक टार्नको लागि मात्र भएपनि कुनै रोजगार कसो नपाईएला भन्ने आशा उनीहरुमा थियो।

तर केहि महिनामै आफ्नौ ठाउँमा कुनै रोजगार र आम्दानीको उपाय नलागेर भोकभोकै हुनुपर्ने भएपछि मरेपनि आफ्नै भूमिमा मरुला भनेर आएकाहरु हतास भएका छन्। बालबच्चा, आफू भोकै मर्नुभन्दा ‘उतै जस्तो भएपनि भोगुला’ भन्दै निरास भएर मजदुरीका लागि भारततर्फ जान लागेका हुन। ‘यि बालबच्चा पाल्ने उपाय भए किन जान्थे, वालबच्चासहित म पंजाव जादै छुँ’तीन बालबच्चा र महिलासहित भारतजान लागेका डोटीका हर्क भुलले भने,‘उता जस्तो दुःख र समस्या भएपनि भोग्नु छँदैछ।’ उनी लकडाउनपछि ४ महिना अघि नेपालमा आएका थिए।  

बालबच्चा समेत संगै लगेर महिला पुरुष मजदुरीका लागि भारततिर जाने गरेका छन्। ‘खानु त चाहिन्छ, के खाएर बाच्ने? श्रीमान र म दुवै मजदुरीका लागि हरियाणा जादै छौं’धनगढी देवरियाकी रंजिता चौधरीले भनिन्। कुखुरा फर्ममा काम गर्ने चौधरी दम्पति पनि भारतमा कोरोना संक्रमण फैलिएर लकडाउन भएपछि स्वदेशमै केही रोजगार गरेर बस्ने सपना साँचेर घर आएका थिए। ‘त्यतिवेला रोगले मरेपनि आफ्नै माटोमा मरुला भनेर घर फर्केका थियौं, केहि रोजगार पनि पाइएन, वाध्यताले उतै जानु प¥यो’सन्तराम चौधरीले भने। पेट सेमत पाल्न सामान्य आम्दानीको रोजगार समेत नपाएर पिडा सहित भारत फर्कने सयौ जनाको प्रत्येक दिनको लामले गरिवि र बेरोजगारीको कहाली लाग्दो अवस्था देखाउनुका साथै देशमा रहेका तीन तहका सरकारलाई गिज्याईरहेको छ। 

‘खान नपाएर सयौ युवायुवती आशु चुहादै भारततिर जाने दृष्यले परिवर्तनले जनताको जिवनमा कुनै परिवर्तन आउन नसकेको झल्काएको छ ’नागरिक समाजका अगुवा प्रमोद पाठक भन्छन्,‘संविधानमा लेख्ने तर त्यो पुरा गर्ने जिम्मेवारी बहन नगर्ने शासकहरुका कारण यो देशकै लागि लाजमर्दो भएको छ।’ संविधानमा प्रत्येक नागरिकलाई रोजगारीको अधिकार हुने उल्लेख गरिएपनि निराश र उदास मुहार बोकेर प्रत्येक दिन भारततिर गैरहेका सयौ युवायुवती पिडा प्रति तीन तहका सरकारले ध्यान नदिएको उनी बताउँछन्।

भारतमा कोरोनाको संक्रमण शुृरु भएसँगै त्रासले फागुनको अन्तिम सातादेखि नेपालीहरु घर फर्कन थाले। फागुनको अन्तिम सातादेखि सरकारले अन्तरराष्ट्रिय सीमा बन्द गरेर प्रवेश निषेध गरेको चैत ११ गतेसम्म भारतका बिभिन्न ठाउँवाट मजदुृरी गरि घर फर्कने लाम देखिन्थ्यो। पछि नाका प्रवेश खुला गरेपछि जेठ र असार महिनामा पनि घर फर्कनेको लर्को नै थियो। कुनै आम्दानीको श्रोत र रोजगार नभएर भोकमरी हुने अवस्था भएपछि भदौ महिनादेखि पुन भारततिर जान थालेका हुन्।

आफूसँग भएको जमिनको उव्जनीले ३,४ महिना पनि खान नपुग्ने र अन्य आयश्रोत पनि नभएपछि सुदूरपश्चिमवाट भारतका बिभिन्न ठाउँमा गएर सस्तोमा श्रम बेच्ने गरेका छन्। सस्तोमा श्रम बेच्ने गरेकाले १०, १५ वर्षदेखि भारतमा मजदुरी गरिरहेकाहरु समेत ३, ४ महिनामै बालबच्चाको पेट कसरी पाल्ने भन्ने समस्यामा परेर भारततिरै जान वाध्य भएका छन्।  प्रत्येक दिन करिव १५ सय २ हजार जना सुदूरपश्चिमवाट भारततर्फ गैरहेका छन्। शुक्रवार गड्डाचौकी र गौरिफन्टा नाकाबाट मात्र १९ सय ८३ जना र शनिवार १६ सय ७५ जना भारततर्फ गएका कंचनपुर प्रहरी कार्यालयका प्रहरी नयाव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताएका छन्।

सुदूरपश्चिमका बिभिन्न जिल्ला, बर्दिया, बाँके लगायतका मजदुरीका लागि सुदूरपश्चिमको नाका भएर भारततर्फ गरहेका छन्।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक मुकेश सिंहले भदौ महिना यतामात्र सुदूरपश्चिमबाट ६० हजार जना मजदुरीका लागि भारत तर्फ गएको बताएका छन्।  भारतमा अहिले पनि कोरोनाको संक्रमण डरलाग्दो गरि फैलिरहेको छ। ९० लाखभन्दा बढी संक्रमित भएका छन् भने १ लाख ३३ हजार भन्दा बढीको ज्यान गैसकेको छ।

आयश्रोत नभएको र आफूसँग भएको जमिनको कमाईले ३,४ महिना पनि खान नपुग्ने भएकाले सुदूरपश्चिमका करिव ७ लाख बढी भारतमा मजदुरी गर्न जाने गरेका छन्। उनीहरु भारतमा सस्तोमा श्रम बेच्ने गरेका छन्। कोरोनाको संक्रमण फैलिएसँगै फागुन यता ३ लाख बढी नेपालीहरु घर फर्केका थिए।  भारतबाट फर्केकालाई भोकभोकै हुन नदिन राहातका कार्यक्रम र दिर्घकालिन रुपमा स्वरोजगार सृजना गर्ने कार्यक्रममा ल्याउन सरकार चुकेको पर्यटन व्यवसायी कृष्णबहादुर महरा बताउँछन्।