कैलालीमा मानव–वन्यजन्तुबीच रहँदै आएको द्वन्द्व न्यूनीकरणको प्रयास
2020/11/25, 9:10
 
dwand

कैलालीमा मानव–वन्यजन्तुबीच रहँदै आएको द्वन्द्व न्यूनीकरणको प्रयास थालिएको छ । सामुदायिक वनका उपभोक्ताले वनक्षेत्र वरिपरि तारबार गरेर द्वन्द्व न्यूनीकरणको प्रयास गरेका हुन । जिल्लाको लम्कीचुहा नगरपालिकामा रहेको दुई वटा सामुदायिक वन वरिपरि ग्याबिन जालीको प्रयोग गरेर द्वन्द्व न्यूनीकरणका लागि तारबार गरेका छन् । सामुदायिक वनमा रहेका वन्यजन्तु बस्तीमा पस्दा मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको थियो । 

 वनमा रहेका चित्तल, निलगाई, बदेंल जस्ता वन्यजन्तुले खेतीपातीमा व्यापक नोक्सान गर्न थालेपछि सामुदायिक वन वरिपरि ग्याबिन जालीको प्रयोग गरेर तारबार गरेको उपभोक्ताले बताएका छन् । लम्कीचुहा नगरपालिका–३ मा रहेको कोपिला सामुदायिक वन र वडा नम्बर १ मा रहेको जनकल्याण सामुदायिक वन वरिपरि तारबार गरेपछि वन्यजन्तुबाट भोग्दै आएको समस्या केही कम भएको उनीहरुको भनाइ छ । 

‘जङ्गलबाट निस्केर खेतमा आउने बदेंल, निलगाई जस्ता वन्यजन्तुबाट बाली र तरकारी जोगाउनै मुस्किल छ’, लम्कीचुहा नगरपालिका–३ व्यवस्थित नगरकी कोकिला न्यौपानेले भनिन् । ‘तारबार लगाइएपछि अहिले केही कम भएको छ, तर वन्यजन्तु आउनेक्रम भने रोकिएको छैन ।’ 

वनको सबैतिर तारबार लगाउन बाँकी रहेकाले अझै पनि वन्यजन्तु आएर खेतीपातीमा नोक्सान पु¥याउने गरेको स्थानीयको भनाइ छ । वन्यजन्तु बस्तीमा पुग्न थालेपछि कहिले मान्छेले वन्यजन्तुमाथि आक्रमण गरेको त कहिले वन्यजन्तुले मान्छेमाथि आक्रमण गरेको उनीहरु बताउँछन् ।  

गाउँमा पसेका वन्यजन्तुलाई स्थानीयले लखेट्दा कुनै बेला वन्यजन्तु घाइते भएको र कुनै समय वन्यजन्तुले मान्छेलाई घाइते बनाएको कोपिला सामुदायिक वनका अध्यक्ष पूर्णप्रसाद बजगाइँ बताउँछन् । ‘मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्न थालेपछि हामीले ग्याबिन जालीको तारबार गरेर वन्यजन्तुलाई वनमै रोक्ने प्रयास गरेका छौं’, उनले भने । ‘तर, अहिले पनि समस्या पूर्ण रुपमा रोकिएको छैन । केही हद्सम्म कम भने अवश्य भएको छ ।’ 

बर्दिया राष्ट्रिय निकुञ्जको नजिक पर्ने दुवै सामुदायिक वनमा वन्यजन्तुको चहलपहल बढेको छ ।  सामुदायिक वनमा चित्तल, निलगाई, बँदेल, बाँदरजस्ता वन्यजन्तुमात्रै नभइ बाघ र चितुवाको पनि बसोबास रहेको छ । वन नजिकै बस्ती रहेकाले जहिल्यै ठूला वन्यजन्तुको त्रास रहेको स्थानीयवासी बताउँछन् । 

ठूला वन्यजन्तुका कारण अहिलेसम्म कुनै अप्रिय घटना नभए पनि त्यस्ता वन्यजन्तुको त्रास धेरै रहेको व्यवस्थित नगरकै लक्ष्मी तिमिल्सिनाले बताइन् । ‘वनको चितुवा र बाघ आएर मान्छे लगायत घरपालुवा जनावरमाथि आक्रमण गर्न सक्ने अवस्था छ’, उनले भनिन् । ‘ग्याबिन जालीले तारबार गरिएपछि थोरै भए पनि सुरक्षा त महसुस गरेका छौं, तर, अझै पनि ढुक्क हुन सकेका छैनौं ।’ 

स्थानीयवासीका अनुसार सबैभन्दा बढी हिउँदको बेलामा वन्यजन्तुले कृषिबालीमा नोक्सान गर्दै आएका छन् । मास, मसुरो जस्ता दलहन कृषि उपजलाई चित्तल र निलगाईले धेरै क्षति पु¥याउने गरेको उनीहरुको भनाइ छ । वन्यजन्तुको कारण कृषिबाली जोगाउन ठूलो समस्या रहेको अर्का स्थानीय नामसरा तिरुवाले बताइन् । 

‘तारबार गरिएपछि पूर्ण रुपमा यो समस्या समाधान होला भनेर सोंचेका थियौं’, उनले भनिन् । ‘तर, अझै समस्या कायमै रहेको छ ।’ कोपिला सामुदायिक वनमा ६०० घरधुरी आश्रित छन् । २०६० सालमा सामुदायिक वन बनाएर संरक्षण थाल्दा घाँस, दाउरा र काठको लागि सहज भए पनि वन्यजन्तुका कारण भने धेरै नोक्सान व्यहोर्दै आएको उपभोक्ताहरुको भनाइ छ । कोपिला सामुदायिक वन २०५.३१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । 

 यसैगरी, ४२२ हेक्टर क्षेत्रफल ओगटेको जनकल्याण सामुदायिक वन वरिपरि पनि तारबार गरिएको छ । यो सामुदायिक वनमा सधैंजसो बाघको बसोबास रहने गरेको जनाइएको छ । २०७४ सालमा वनहेरालु नरेन्द्रसाद जैशीको बाघसंग जम्काभेट भएको थियो । धोबिनी खोलामा सुतेको बाघको उनले मोबाइलबाटै फोटोसमेत खिचेका छन् । 

सामुदायिक वनमा हिंस्रक वन्यजन्तु पनि रहेकाले ती जङ्गली जनावरलाई बस्तीतर्फ आउनबाट रोक्नका लागि तारबार गरिएको जनकल्याणका अध्यक्ष पदमराज न्यौपानेले बताए । ‘तारबार गरिएपछि अहिले मानव र वन्यजन्तुबीचको द्वन्द्वमा कमी आएको छ’, उनले भने । 

तराई भूपरिधी कार्यक्रम (ताल) को सहयोगमा २५ लाख रुपैयाँ लगानी गरेर बस्तीतर्फको क्षेत्रमा दुवै सामुदायिक वनको वरिपरि तारबार गरिएको हो । जसमा सहयोगी संस्थाको ५० प्रतिशत र त्यति नै सामुदायिक वन उपभोक्ता समूहको लगानी रहेको जनाइएको छ । कोपिला वरिपरि दुई किलोमिटरसम्म र जनकल्याण वरिपरि एक किमी २३० मिटरमा तारबार गरिएको छ ।