स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि बूढीगंगाको स्वास्थ्य संस्था सिल, उपचार सेवा ठप्प
2020/11/27, 10:51
 
corona

बाजुराको बूढीगंगा नगरपालिकाका तीनवटै स्वास्थ्य चौकी सिल हुने भएका छन् । स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि स्वास्थ्य संस्था केही दिनका लागि बन्द हुने भएका हुन् । नगरपालिकाको ब्रह्मतोला र देवलसैन स्वास्थ्य चौकी सिल गर्न लागिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक शाहले बताए ।

बाह्रबीस स्वास्थ्य चौकी र देवलसैन स्वास्थ्य चौकीमा एक९एक जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ भने बाजुरा स्वास्थ्य चौकी टाँटेका नगरप्रमुख दीपकविक्रम शाह संक्रमित अवस्थामै बसिरहेकाले सिल गर्नुपर्ने अवस्था आएको संयोजक शाहले जानकारी दिए ।

उनले नगरप्रमुख शाहलगायत चेकजाँचमा खटिएका स्वास्थ्यकर्मी नै संक्रमित अवस्थामा रहेकाले यसको संक्रमण समुदायमा फैलिन सम्ने स्थिति हुन सक्ने भन्दै स्वास्थ्य संस्था सिल गर्दै सेवा प्रवाहामा रोक लगाइएको छ ।

यहाँका स्वास्थ्य संस्थाबाट प्रवाह हुने सम्पूर्ण स्वास्थ्य सेवा बन्द हुने गरी शुक्रबारसम्मका लागि तीन दिन सिल गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख शाहको भनाइ छ । बूढीगंगा नगरपालिकाका प्रमुख शाहको दोस्रो रिपोर्ट पनि कोरोना पोजिटिभ आएकाले पनि टाँटे स्वास्थ्य चौकी सिल गर्नुपरेको हो । शाहलाई १४ दिन पहिले कोरोना देखिएको थियो ।

शाह नगरप्रमुख निर्वाचित भएदेखि नै स्वास्थ्य चौकीकै क्वार्टरमा बस्दै आएका छन् । नगरप्रमुख नै स्वास्थ्य चौकीको क्वार्टरमा बस्ने गरेको विषयमा विगतदेखि नै टीकाटिप्पणी हुने गरेको छ । नगरप्रमुख निर्वाचित भएदेखि नै स्वास्थ्य चौकीको क्वार्टरमा डेरा बनाएर बस्ने गरेको स्वास्थ्य संयोजक दीपक शाहले स्वीकार गरेका छन् ।

तीनवटै स्वास्थ्य संस्था सिल गर्नुपर्ने भएपछि सिंगो नगरपालिका क्षेत्रको स्वास्थ्य उपचार सेवा नै प्रभावित हुने भएको छ । बूढीगंगा नगरपालिकामा लगातार कोरोनाको संक्रमण बढिरहेको छ । दिन प्रतिदिन समुदायमा कोरोनाको प्रभाव देखिँदा स्थानीय त्रसित भएका छन् ।

पछिल्लो समय स्वाब संकलन गराएका अधिकांशको रिपोर्ट पोजिटिभ आउने गरेको छ । बाजुरामा स्वाब परीक्षण गर्ने व्यवस्थापन नहुँदा सबैको स्वाब परीक्षण हुन सकिरहेको छैन । यसमा स्थानीय तहले पनि कोरोना परीक्षणमा चासो देखाएका छैनन् । दिन प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गए पनि न उनीहरूको कन्ट्याक्ट ट्रेसिङ हुन सकिरहेको छ, न त उनीहरूको संसर्गमा रहेकाको पहिचान हुन सकिरहेको छ ।

अन्योलका कारण समुदाय स्तरमा कारोनाको प्रकोप फैलिन सक्ने आँकलन गरिएको छ ।बूढीगंगा नगरपालिका( ६ का कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको स्वास्थ्यकर्मीले बताएका छन् ।