कैलालीमा हुलाकी सडकलाई बहु लेनको बनाउने कार्य सुरु
2020/11/27, 10:57
 
sadak

सिङ्गल लेनमा बनाइएको हुलाकी सडकलाई बहु लेनको बनाउने कार्य सुरु भएको छ । धनगढीदेखि मनहेरासम्म चार लेन र अन्यत्र दुई लेन बनाउने गरी हुलाकी राजमार्ग स्तरोन्नतिको कार्य सुरु भएको हो ।  हुलाकी राजमार्ग आयोजनाको कार्यालय र निर्माण कम्पनीबाट संयुक्त सर्वे पश्चात राजमार्ग स्तरोन्नतिको कार्य अगाडि बढेको आयोजनाका इन्जिनीयर पदम मडैले उल्लेख गरे ।

उनका अनुसार धनगढी–भजनी–सत्ती र लम्की–टीकापुर–खक्रौला खण्डमा राजमार्ग स्तरोन्नतिको कार्य भइरहेको छ । जिल्लाभरि हुलाकी राजमार्गको दूरी ८३.७ किलोमिटर रहेको छ । धनगढी–भजनी–सत्तीसम्मको ४४ किलोमिटर र लम्की–टीकापुर–खक्रौलासम्मको ३९.७ किलोमिटरमा सडक चौडा बनाउनका लागि सात खण्डमा ठेक्का सम्झौता गरिएको छ ।

धनगढी–भजनी–सत्तीसम्म पर्ने चार खण्डमध्ये तीन खण्डमा स्वच्छन्द जोशी र एक खण्डमा कालिका जोशी जेभीले राजमार्ग स्तरोन्नतिको जिम्मेवारी पाएका छन् । यसैगरी, लम्की–टीकापुर–खक्रौलासम्मको तीन खण्डमध्ये एक खण्डमा कालिका सुमार्गील र दुई खण्डमा कृष्ण जेभीले निर्माणको ठेक्का पाएका छन् । निर्माण कम्पनीहरुले काम थालिसकेका छन् । 

यसअघि एक लेनको हुलाकी राजमार्ग निर्माण गरिएको थियो । त्यसमा साढे तीन मिटरमात्रै कालोपत्रे भएको थियो । अब धनगढीको क्याम्पस रोडदेखि मनहेरासम्म चार लेन र बाँकी ८०.७ किलोमिटर क्षेत्रमा दुई लेनको रोड बन्ने इन्जिनीयर मडैले बताए । क्याम्पस रोडदेखि मनहेरासम्म तीन किलोमिटरमा सडक चार लेनको बन्ने जनाइएको छ । ‘अब अलकत्रा प्रविधिबाट हुलाकी राजमार्ग बन्नेछ’, उनले भने । ‘यसअघि, ओटासिल प्रविधिबाट बनेको थियो ।’ ओटासिल प्रविधिबाट बनेको हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न भएको केही वर्षभित्रैबाट भत्किन सुरु भएको थियो । 

हुलाकी राजमार्ग स्तरोन्नति कार्यमा करिब दुई अर्ब रुपैयाँ बजेट खर्च हुने अनुमान गरिएको इन्जिनीयर मडैले बताए । उनका अनुसार क्याम्पसरोडदेखि मनहेरासम्मको सात किलोमिटर राजमार्ग स्तरोन्नति लागत ३७ करोड, कनरीदेखि फूलबारीसम्म १२ किलोमिटरको लागत ३२ करोड, फूलबारीदेखि कटैनी नदीसम्म सात किलोमिटरको लागत २८ करोड रुपैयाँ रहेको छ । यस्तै, कान्द्रा नदीदेखि सत्तीसम्म १३ किलोमिटर सडक स्तरोन्नतिको लागत रकम ३२ करोड रुपैयाँ रहेको छ । 

हुलाकी राजमार्ग स्तरोन्नतिका लागि गत आर्थिक वर्षको असार ३० गते सम्झौता गरेर साउन १ गतेदेखि काम गर्ने लक्ष्य राखिएको थियो । तर, विविध कारणले तोकिएको समयबाटै स्तरोन्नतिको कार्य सुरु गर्न नसकिएको जनाइएको छ । यसैबीच, बसन्ता वन क्षेत्रको दुई किलोमिटर खण्डमा हुलाकी राजमार्ग विस्तारको अझै कुनै टुङ्गो लाग्न सकेको छैन । वन मन्त्रालयबाट रुख कटानको आदेश प्राप्त नभएका कारणले दुई किलोमिटर खण्डमा सडक विस्तार कार्य अझै अनिश्चित रहेको हो । 

धनगढीदेखि सत्तीसम्म ६२ किलोमिटर सडकमध्ये ४४ किलोमिटर पाँच वर्ष पहिले नै निर्माण गरिएको थियो । कटैनी नदीदेखि कान्द्रा नदीसम्म बसन्ता संरक्षित क्षेत्रमा १८ किलोमिटर दूरी रहेको छ । सो खण्डको १६ किलोमिटरमा कालोपत्रे रोड निर्माणको कार्य लगभग सकिए पनि छटकपुर बसन्तादेखि कटैनी नदीसम्मको बाँकी दुई किलोमिटरमा अझै कुनै सुरसार भएको छैन ।  दुई किलोमिटर खण्डमा पर्ने एक सय वटा रुख कटानका लागि आदेश माग गरिएको फाइल डिभिजन वन कार्यालयले अगाडि नबढाएका कारण अहिलेसम्म कुनै टुङ्गो लाग्न नसकेको जनाइएको छ । अहिलेसम्म ट्रयाकसमेत खोल्न नसकिएको इन्जिनीयर मडैले बताए । 

बसन्ता संरक्षित वन वन्यजन्तुको जैविक मार्ग हो । यो वन क्षेत्रमा राजमार्ग विस्तार हुँदा वन्यजन्तुलाई ओहोरदोहोरमा सहजताका लागि अनिवार्य रुपमा ओभर पास र अन्डर पास बनाउनु पर्ने डिभिजन वन कार्यालय कैलालीले सर्त राखेको छ । हुलाकी राजमार्ग आयोजनाले सर्त पूरा नगरेका कारण फाइल अगाडि फिर्ता भएको डिभिजन वन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए । ओभर पास र अन्डर पास निर्माण गर्न धेरै बजेट आवश्यक पर्ने भएकाले हुलाकी राजमार्ग आयोजनाको कार्यालय हिच्किचाउँदै आएको बताइएको छ । बसन्ता क्षेत्रमा बन्ने सडकको बजेटभन्दा बढी बजेट अन्डर पास र ओभर पास बनाउनमा खर्च हुने दाबी गरिएको छ ।