बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि लकडाउन
2020/11/28, 6:43
 
death

बैतडीको दशरथचन्द नगरपालिकाभित्र १० दिनका लागि लकडाउन भएको छ । नगर कार्यपालिकाको बैठकले शनिबारदेखि मंसिर २२ गते सम्म नगरपालिका क्षेत्रमा लकडाउन गर्ने निर्णय गरेको थियो । 

नगरपालिकामा क्षेत्रमा १८ जना सक्रिय संक्रमित रहेका र नगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन गरिएकोे दशरथचन्द नगरपालिका १ का वडा अध्यक्ष भुवनराज भट्टले जानकारी दिए । 

लकडाउनको अवधिमा सबै प्रकारका लामो तथा छोटो दुरीका यातायातका साधन बन्द छन् भने तरकारी तथा खाद्यान्न पसल बिहान ९ बजेदेखि ११ बजे सम्म मात्रै खोल्न पाइनेछ । यस्तै अति आवश्यक बाहेक नगरपालिका र वडा कार्यालयका सबै कामकाज बन्द गर्ने निर्णय भएको छ ।

यसैगरी रुखाखोकी, ज्वरोका बिरामीहरुले नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नुपर्ने, नगर क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, सम्मेलन तथा बैठक गर्न नपाइने निर्णयमा उल्लेख गरिएको छ । 

यस्तै नगर क्षेत्रभित्रका बैंक तथा बित्तीय संस्थाहरुले हप्तामा तीन दिन आइतबार, मंगलबार र बिहीबार मात्रै सेवा प्रवाह गर्ने, नगर क्षेत्रभित्र रहेका संघीय र प्रदेश सरकार मातहतका कार्यालय बन्द गर्न अनुरोध गर्ने, परीक्षा बाहेक सम्पूर्ण शैक्षिक गतिविधि बन्द गर्ने, बिवाहमा १० जना मात्रै सहभागी हुन दिने लगायतका निर्णय गरेको छ । 

धार्मिक स्थल तथा मन्दिरमा नित्यपूजा बाहेक भीडभाड हुने खालका सबै मेला तथा पर्वमा रोक लगाउने निर्णय समेत भएको छ । लकडाउनको अवधिमा औषधि पसल खोल्न पाइनेछ भने एम्बुलेन्स सञ्चालन गर्न पाइने छ । कसैले अत्यावश्यक आवतजावत गर्नुपरेमा वडा कार्यालयको सिफारसमा मात्रै आवतजावत गर्न दिने निर्णय भएको वडा अध्यक्ष भट्टले जानकारी दिए ।