सेती प्रादेशिक अस्पतालले सीटी स्क्यान मेसिन खरिदका लागि ठेक्का सम्झौता गरेको छ । गत वर्ष विवादित बन्दा कुनै प्रक्रिया अगाडी बढ्न नसकेको सीटी स्क्यान मेसिन खरिदका लागि सेती प्रादेशिक अस्पताल र म्याक्स मेडिटेक सिस्टम प्राली काठमाडौँबीच ठेक्का सम्झौता भएको हो ।
गत कात्र्तिक २५ गते म्याक्स मेडिटेक प्रालिसँग ५ लाख ४९ हजार अमेरिकी डलर अर्थात ६ करोड ४६ लाख ८८ हजार ६ सय ७० रुपैयाँमा सिटी स्क्यान मेसिन खरिदका लागि ठेक्का सम्झौता भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार म्याक्सलाई ५ महिनाभित्र सीटी स्क्यान मेसिन खरिद गरी अस्पताललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको छ । सम्झौताअनुसार आपुर्तिकर्ताले सो बजेटमा १ सय २८ स्लाइसको सीटी स्क्यान मेसिन खरिद गरी अपुर्ति गर्नेछ ।
मेसिन सञ्चालन र व्यवस्थापनका लागि आवश्यक पर्ने भौतिक संचरना समेत निर्माण भइरहेको अस्पतालले जनाएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सेती अस्पतालका लागि सीटी स्क्यान मेसिन खरिद गर्न गत वर्ष साढे ८ करोड बजेट विनियोजन गरेको थियो । तर पर्याप्त समय नभएकाले खरिद प्रक्रिया थाल्न नसकिने भन्दै अस्पताल प्रशासनले सामाजिक विकास मन्त्रालयलाई सो बजेट रकमान्तरका लागि पत्र लेखेपछि विवाद सिर्जना भएको थियो ।
अस्पतालले सो बजेटले अन्य अत्यावश्यक उपकरण खरिद गरी अर्को वर्ष सीटी स्क्यान मेसिनका लागि बजेट व्यवस्थापन गरिदिन आग्रह गरेपनि मन्त्रालयले अस्वीकार गरेको थियो । प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालका लागि सीटी स्क्यान मेसिन अति आवश्यक उपकरण हो ।