बैतडीमा किशोरी बलात्कार: वडाध्यक्ष सहित थप ४ जना पक्राउ
2020/11/29, 1:57
 
corona

बैतडीको सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरी बलात्कार प्रकरणमा वडा अध्यक्ष सहित थप ४ जना पक्राउ परेका छन् । सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित थप ४ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

सोही ठाउँका राजेन्द्र धामी, नरेन्द्र धामी र गोपाल धामीलाई पनि शनिबार साँझ पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । यो संगै किशोरी बलात्कार प्रकरणमा ६ जना पक्राउ परिसकेका छन् । यसअघि गएको बिहीबार सोही घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मनोजसिंह धामी र अमर धामीलाई नियन्त्रण लिएको थियो ।

उनीहरुमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए । बलात्कार घटनाका मुख्य आरोपित सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका प्रहरीले जनाएको छ । उनी पहिला नै भारत भागीसकेको प्रहरीले जनाएको छ ।

सिगास गाउँपालिका ३ की १८ बर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको र गत असार १४ गते गाउँमै तमसुक बनाएर सो घटना मिलाउन खोजिएको थियो । तमसुकमा पीडित पक्षलाई कार्तिक मसान्तभित्र एकतोला सुन दिने भनिएको थियो । पीडित पक्षलाई सुन नदिएपछि बलात्कारको घटना बाहिर आएको हो ।

यो घटना बाहिर आएपछि प्रहरीले यसलाई गम्भीरताका साथ लिएको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । यो घटनामा मुख्य आरोपित फरार रहेपछि घटनालाई ढाकछोप गर्ने वडा अध्यक्ष सहितका व्यक्तिलाई नियन्त्रणमा लिईसकेको प्रहरीले जनाएको छ ।