एकै आर्थिक वर्षमा एचआइभीका १५२ जना नयाँ बिरामी फेला 
2020/11/30, 7:29
 
hiv

कैलालीमा गरिएको परीक्षणमा एकै आर्थिक वर्षमा १५२ जना एचआइभी एड्सका नयाँ बिरामी फेला परेका छन् । गत आर्थिक वर्षमा छ हजार ११३ जनाको स्वास्थ्य परीक्षण गर्दा १५२ जना नयाँ सङ्क्रमित फेला परेका हुन । पुष्टि भएका नयाँ संक्रमितमा वयस्क पुरुष ५५, वयस्क महिला ५५, ट्रान्स जेन्डर ३८, बालबालिका चार जना रहेका छन् । 

संक्रमण पुष्टि भएका उनीहरु विभिन्न जिल्लाका रहेका जिल्ला स्वास्थ्य कार्यालय कैलालीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार फेला परेका नयाँ सङ्क्रमितमा कैलालीका ११०, कञ्चनपुरका २५, बैतडीका तीन, बर्दियाका चार, डोटीका, बझाङ, अछाम र डडेल्धुराका दुई÷दुई, दार्चुला र भारतका एक÷एक जना रहेका छन् ।

यसैबीच, प्राणघातक एचआइभी एड्स रोगबाट गत आर्थिक वर्षमा ३५ जनाको ज्यान गएको छ । कैलालीबाट एआरटी खाँदै आएकामध्ये ३५ जनाले गत आर्थिक वर्षमा ज्यान गुमाएका हुन । जसमध्ये छ जना सोही आर्थिक वर्षमा फेला परेका नयाँ सङ्क्रमित थिए । मृत्यु हुनेमा बाँकी पहिल्यै एचआइभी पुष्टि भएका विरामी रहेका जिल्ला स्वास्थ्य कार्यालय प्रमुख लालबहादुर धामीले बताए । डिसेम्बर १ तारेखका दिन मनाइने विश्व एड्स दिवसको अवसरमा विभिन्न कार्यक्रम गरिने सो कार्यालयले जनाएको छ ।