देखाउने काम सिलाई कटाई, गोप्यमा नक्कली नोट छपाई
2020/12/01, 6:16
 
nakkali note

कञ्चनपुर प्रहरीले नक्कली नोट छाप्ने सामग्री सहित ३ जनालाई पक्राउ गरेको छ । महेन्द्रनगर बजार क्षेत्रमा नक्कली नोटको कारोबार गरिरहेकै अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  प्रहरीले आइतबार साँझ एक भारतीय सहित २ जना र अघिल्लो दिन साँझ एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१८ भगतपुर बस्ने दिपक नाथ, सोही ठाउँकी रितिका बम, भारतको बरेली घर भई भीमदत्त नगरपालिका –१८ बस्ने अनुज शर्मा रहेका छन् ।  नाथलाई शनिबार साँझ भीमदत्त नगरपालिका–४ गोबरिया स्थित एक पसलमा नक्कली रुपैयाँको कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । बम र शर्मालाई आइतबार साँझ महेन्द्रनगर बजारकै गल्ली नम्बर २ मा कारोबार गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई समातेपछि उनीहरु बस्ने कोठाबाट नक्कली नोट छाप्ने कलर प्रिन्टर मेसिन, ल्यापटप, कागज, कैंची र १ हजार १३६ थान नक्कली नोटहरु बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार तीनै जनाले प्रिन्टरबाट नक्कली नोट छाप्ने र बजारमा वृद्धवृद्धा तथा बालबालिकाहरुसँग कारोबार गर्ने गरेको खुलेको छ । ‘राम्ररी नोट चिन्न नसक्नेहरुसँग कारोबार गरिएको कुरा खुल्न आएको छ ।’ एसपी मरासिनीले भने–‘लागूऔषधको प्रयोगकर्ताहरुसँग बढी कारोबार भएको देखिन्छ ।’ 

नक्कली नोट छाप्ने गिरोहका नाईके भारतीय नागरिक अनुज शर्मा रहेका छन् । उनले महेन्द्रनगरको गल्ली नम्बर ३ मा सिलाई कटाईको काम गर्दै आएका छन् । तर सिलाई कटाई उनको देखाउने व्यवसाय मात्रै रहेको खुलेको छ । त्यसको आडमा उनले नक्कली नोट छाप्ने कारखाना सञ्चालन गरेको फेला परेपछि उनको गोप्य कामको खुलासा भएको हो । सो समूहले कहिलेदेखि नक्कली नोट छाप्ने र कारोबार गरिरहेको छ भन्ने कुरा अझै खुलेको छैन । पछिल्लो समय यो समूहबाट नक्कली नोट पाएका स्थानीयहरु सम्पर्कमा आउन थालेको मरासिनीले बताए ।