सुदूरपश्चिममा ४ वटा बलात्कारका घटना सहित १५ वटा उजुरी दर्ता 
महिला हिंसा विरुद्धको १६ दिने अभियानको पाँच दिन
2020/12/01, 9:17
 
rape

महिला हिंसा विरुद्धको १६ दिने अभियान चलेका वेला पनि सुदूरपश्चिममा महिला हिंसाका घटनाहरु रोकिएका छैनन् । अभियान सुरु भएको पाँच दिनको अवधिमा ४ वलात्कारका घटना घटेका छन् । यो अवधिमा १५ वटा उजुरी दर्ता भएका छन् । 

अभियानको पहिलो दिन मंसीर १० गते बैतडीको सिगास गाउँपालिकाकी १८ वर्षीया किशोरीमाथि बलात्कार भएको घटना मिलापत्रमा टुंग्याईएको घटना बाहिरियो । सो घटना ६ महिनापछि सार्वजनिक भएको थियो । सो घटना मिलापत्र गराउने वडाध्यक्ष सहित ६ जना पक्राउ परेका छन् । मिलापत्र गरेको आरोपमा एक जना अझै फरार रहेको उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

अभियानको दोस्रो दिन ११ गते डडेल्धुराको नवदुर्गा गाउँपालिकाकी मानसिक रोगी युवतीमाथि बलात्कार भयो । घटनामा पक्राउ परेका एक जनाको म्याद थप गरि अदालती प्रक्रियामा छ । बलात्कारमा संलग्न रहेको आशंकामा अर्का एक जनाको खोजी कार्य भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । 

कैलालीमा बालिका बलात्कार गरेको आरोपमा एक जना सोमबार पक्राउ परेका छन् । मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा सोही ठाउँका १९ वर्षीय जीवन शाहीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।  असोज २५ गते साँझ आफ्नै घरमा बोलाई बलात्कार गरेका भन्ने जाहेरीका आधारमा शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक अनुप समशेर जवराले बताए । पक्राउ परेका उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

५ दिनको अवधिमा कञ्चनपुरमा लैगिंक हिँसाका २, घरेलु हिंसाका ४ वटा उजुरी दर्ता भएका छन् । बैतडी र डडेल्धुरामा पनि घरेलु ह्र्रिंसाका १, १ वटा उजुरी परेका छन् । कैलाली र कञ्चनपुरमा १, १ वटा बहुविवाहका उजुरी परेका छन् । डडेल्धुरामा १ र बैतडीमा २ गरी ३ वटा बलात्कार उजुरी परेको प्रदेश प्रहरी कार्यालयको तथ्याकंमा उल्लेख छ ।  घरेलु हिंसा तथा बलात्कारका घटनाहरु गाउँ घरमै मिलापत्र गर्नुले ठूला घटना मात्रै प्रहरी कहाँ आउने गरेको भए पनि पछिल्लो समय यस्ता साना ठूला घटनाहरु प्रहरी समक्ष दिन प्रतिदिन दर्ता भइरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

विगतमा लामो समय लुकाएर राखेका घटनाहरु स्वतः बाहिर आउन थालेको उनले जानकारी दिए । विभिन्न संघ सस्था, महिला अधिकारकर्मी लगायतसँग समन्वय गरेर यस्ता घटना न्यूनीकरण गर्न प्रयासरत रहेको समेत उनको भनाइ छ ।  पछिल्लो समय हिंसा सहेर बस्नु हुँदैन भन्ने सचेतनाले पनि अहिले हिंसामा परेका महिलाहरुको उजुरी दिनेहरु संख्या बढेको दलित महिला अधिकार मञ्च नेपालकी अध्यक्ष सावित्रा घिमिरको बुझाई छ । दण्डहिनताको संस्कार मौलाएको भन्दै उनले कानुन कार्यान्वयन गर्ने निकायले कार्यान्वयन नगर्दा पनि बलात्कार तथा आपराधिक गतिविधि बढिरहेको तर्क गरिन् ।