रोजगारीका लागि भारत गएका नेपालीहरु भारतको पलियाबाट पुनः नेपाल फर्केका छन् । धनगढी बसपार्क स्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट टिकट लिएर भारत गएका उनीहरूलाई पलियामै अलपत्र छाडिएपछि मंगलबार बिहान १ बजे एक ३० जना यात्रु धनगढी फर्केका हुन् । भारतको बैंगलोर जान भनि हिँडेका गौरीगंगा नगरपालिका–५, अण्डैयाका राजकुमार गिरीले भारतको पलियाबाट मंगलबार बिहान १ बजे पुनः धनगढी फर्केको बताए ।
उनले भने, ‘धनगढीको बसपार्क स्थित न्यू अछाम नेशनल गेष्ट हाउसमा सम्पर्क कार्यालय रहेको बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.बाट बैंगलोर जान भनेर टिकट लिएका थियौँ । अहिले पलियामा पुगाएर अलपत्र छाडियो ।’ भारत जाने भनेर हिँडेका आफूहरुलाई बीच बाटोमै अलपत्र छाड्ने ट्राभल्स एजेन्सीलाई कानुनी कारबाही गरिनुपर्ने उनले बताए । रोजगारीका लागि भारत जानेहरु मंगलबार बिहान १ बजेको समयमा पुनः धनगढी फर्किर्दा बर्दादेवी टूर एण्ड ट्राभल्स एजेन्सीको ठगीका कारण आफूहरुले दुःख पाएको डडेल्धुरा रुपालबाट भारत जान हिँडेका ज्ञानसिंह ठकुराठीले बताए ।
उनले भने, ‘हामीलाई बैंगलोर पठाउँछौ भनेर धनगढीमा टिकट काटियो, पलियामा ल्याएर अलपत्र छाडियो ।’ उनले बर्दादेवीको ठगी धन्दाका कारण आफूहरुले दुःख पाएको बताउँदै भने, ‘बर्दादेवी टूर एण्ड ट्राभल्स प्रालिलाई ठगी अभियोगमा नेपाल सरकारले कानुनी दायरामा ल्याउनुपर्छ ।’ सशस्त्र सीमा सुरक्षा बल गौरीफन्टा नाकाका सुरक्षाकर्मीका अनुसार मंगलबार बिहान धनगढीबाट हिँडेका १३० यात्रु पुनः धनगढी नै फर्केका छन् । उनीहरुका अनुसार ९१ जना पुरुष, २९ जना महिला र १० जना बालबालिका रहेका छन् ।
यसअघि पनि बर्दादेवी टूर एण्ड ट्राभल्स प्रा.लि.ले भारतको मुम्बई, बैंङ्गलोर, रत्नागिरी, पुना लगायतका सहरका लागि भनेर पठाएका यात्रुहरु पलिया र पुनामा अलपत्र परेका थिए । मंसिर ७ गतेका दिन सोही ट्राभल्सले धनगढीबाट बैंङ्लोरका लागि पठाइएका २३ जना यात्रुलाई भारतको पलिया स्थित भीरामा अलपत्र छाडेको थियो । अलपत्र छाडिएका २३ जना यात्रु धनगढी फिर्ता भएपछि जिल्ला प्रहरी कार्यालय कैलालीको रोहबरमा उनीहरुलाई टिकट बापतको रकम फिर्ता गराइएको थियो । अहिले पनि पुनः भारतको पलियामा सोही ट्राभल्सका यात्रुहरु अलपत्र छाडिँदा जिल्ला प्रहरीको नियतमाथि शंका उब्जिएको सरोकारवाला बताउँछन् ।