सेती प्रादेशिक अस्पतालमा सेवा सुध्रिँदै तर दरबन्दी अझै अभाव
2020/12/01, 9:34
 
corona

प्रदेश सरकारमातहत आएपछि सेवामा निकै सुधार भए पनि सेती प्रादेशिक अस्पतालमा विशेष चिकित्सकको अभाव भने कायमै छ । प्रदेशको एक मात्र ‘रेफरल’ अस्पतालका रूपमा रहेको सेतीमा मुटु रोग, मानसिक रोग र स्नायु रोग विशेषज्ञको दरबन्दी वर्षौँदेखि रिक्त छ । 

मानसिक रोग विशेषज्ञको दरबन्दी करिब चार वर्षदेखि रिक्त छ भने मुटु रोग र स्नायु रोग विशेषज्ञ स्थापनाकालदेखि नै रिक्त रहेको अस्पताल प्रशासनले जनाएको छ । सिटिस्क्यान नहुँदा बिरामीले समस्या भोग्नुपरेको छ । अस्पतालमा पाँच शैय्याको आइसियू र १० शैय्यामा भेन्टिलेटरको सुविधा छ ।

सरकारबाट स्वीकृत ५० शैय्या र अस्पताल विकास समितिका तर्फबाट ७५ गरी एक सय २५ शैय्याको अनुमति भए पनि हाल दुई सय ४४ शैय्यााको सेवा अस्पतालले दिइरहेको सूचा अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । सेवाग्राहीको चाप बढ्दै गए पनि वर्षौँ पुरानो दरबन्दी नगरिने मात्रै होइन, भएको दरबन्दी समेत पूर्ति गरिएको छैन ।  

अस्पताल विकास समितिबाट चिकित्सकीय जनशक्ति थप गरेर अस्पतालले सेवा दिइएको अध्यक्ष दुर्गाप्रसाद जोशीले बताए । रिक्त विशेषज्ञ समितिका तर्फबाट पूर्तिका लागि प्रक्रिया अगाडि बढेकोसमेत उनले बताए । तत्कालका लागि अत्यावश्यक ठानिएको सिटिस्क्यान मेसिन खरिदका लागि सम्झौता भइसकेको र पाँच महिनाभित्र त्यसको आपूर्ति हुने सूचना अधिकारी श्रेष्ठले बताए ।

प्रदेशका अन्य अस्पतालको तुलनामा सेवा सुविधा भएकाले सेती ‘रेफरल’ अस्पतालको रूपमा रहेको छ । दैनिक पाँच सयभन्दा बढी सेवाग्राहीले अस्पतालबाट सेवा लिने गरेका छन् ।