प्रहरीलाई नक्कली नोट छाप्ने कारखानासम्म पुर्‍याएको त्यो क्लु........
2020/12/01, 10:49
 
corona

आइतवार बेलुकी कञ्चनपुरको महेन्द्रनगरस्थित २ नम्बर गल्लीमा रहेको सानु धामीको पसलमा एक दम्पतीले बालबालिकाकालागि खेलौला किनेर पसलमा नक्कली नोट दिए। नक्कली नोट दिने व्यक्ति थिए भारतको बरेली घर भई कञ्चनपुरको महेन्द्रनगरमा बस्दै आएका अनुज शर्मा र उनकी पत्नी रितिका बम। बजारमा नक्कली नोट आएको ‘क्लु’ भने प्रहरीले एक दिनअगावै फेला पारिसकेको थियो।

जिल्लाको भीमदत्तनगरपालिका वडा नम्बर १८ बस्ने २४ वर्षका दीपक नाथलाई प्रहरीले शनिवार हजारका तीन वटा नक्कली नोट सहित सामान किन्ने क्रममा पक्राउ गरिसको थियो। उक्त ‘क्लु’ पछ्याउने क्रममा आइतवार एक दम्पती पक्राउ परेपछि प्रहरीलाई नक्कली नोटको कारोबारबारे अनुसन्धान गर्न थप सहज भयो। नक्कली नोटसहित दुई दिनमा तीन जना पक्राउ परेपछि प्रहरीले सोधपुछ गर्दा उनीहरू तीनै जना एउटै गिरोहमा रहेको खुल्यो। त्यस पश्चात् प्रहरीले भीमदत्त नगरपालिका वडा नम्बर १८ मा डेरा गरी बस्ने शर्मा दम्पतीको डेरामा खानतलासी थाल्यो।

‘खानतलासी गर्दै जाँदा उनीहरूले खोटा मुद्रा छाप्नेदेखि बिक्री गर्ने कार्यसम्म गर्ने पत्ता लाग्यो। उनीहरूको डेरामा नक्कली नोट छाप्ने कारखाना नै भेटिएको छ’, जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले भने, ‘उनीहरूले अरू व्यक्तिलाई समेत नोटहरू दिएको बताएका छन्। यो गिरोहमा अरू पनि केही व्यक्तिहरू संलग्न छन् भन्ने खुल्न आएको छ। यो नक्कली नोटको ठूलै कारोबार गर्ने कारखाना नै चलाएको गिरोह रहेछ। हामीले थप अनुसन्धान गर्दै छौँ।’

तीन जनामध्ये शर्मा दम्पती नोट छाप्ने र धामी भने नोट विक्रेताका रूपमा काम गर्ने व्यक्ति हुन्। प्रहरी नायब उपरीक्षक क्षेत्रीका अनुसार बालबालिका भएको पसल, भिडभाड तथा ज्येष्ठ नागरिकहरू भएको पसलमा सामान किनेर पैसा छोडेर भाग्ने कार्यमा भने शर्मा दम्पतीको पनि संलग्नता छ। शर्मा दम्पतीको लागुऔषधको कारोबारमा समेत संलग्नता हुन सक्ने प्रहरीले अनुमान गरेको छ। दीपक नाथ भने यसअघि गाडीमा सहचालकको काम गर्दै आएका थिए।

प्रहरीले उनीहरूका साथबाट नक्कली नोट छाप्ने मेसिन समेत बरामद गरेको छ। साथै प्रहरीले दुई वटा नम्बर प्रयोग गरिएका एक हजार दरका एक सय ३६ वटा नोटहरू बरामद गरेको छ।  उनीहरूका विषयमा जिल्ला अदालत कञ्चनपुरबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।