अछामका स्थानिय फेरि छाउगोठमा बस्न थाले
2020/12/01, 1:19
 
chhau goth

देउता रिसाएको भन्दै अछामका महिला फेरि छाउगोठमा बस्न थालेका छन्। लकडाउनअघि अछाममा छाउगोठ भत्काउने अभियान नै चलेको थियो। तर, अहिले देउता रिसाएर बाघ पठाएको, घरमा सर्प आएको भन्दै उनीहरू फेरि छाउगोठमा बस्न थालेका हुन्।

‘कानुनमा के छ ? थाहा छैन तर हामीले छाउगोठमा नबसेपछि देउता भने रिसाएका छन्’, चौरपाटी गाउँपालिका–३ सोकटकी माता साउँदले भनिन्। ‘गोठ भत्काएपछि घरमै बस्न थाले। पाँच पटक बाघ आयो, सर्प पनि आयो। घर नजिकै देउताको मन्दिर छ। देउता रिसाए, त्यसैले फेरि छाउगोठमा बस्न थालेकी छु।’

छाउगोठ भत्काइसके पनि सोकट गाउँमा फेरि सामूहिक गोठ बनेका छन्। सोकटको डुग्रीमा गाउँ वरिपरि देवी देउताका मन्दिर छन्। त्यही देउताको डरले फेरि गोठको बास हुन थालेको छ।  सोकटकी झुप्री साउदको घर असार २९ गते भत्कियो। रातभर परेको अविरल वर्षाका कारण जीर्ण बनेको घर भत्कियो। तीन छोराछोरीसँगै सुतेकी झुप्री छोराछोरीलाई हत्तपत्त समातेर बाहिर निस्किन्। घर भत्केको दिन उनलाई छाउ भएको तीन दिन भएको थियो।

छाउगोठ भत्काएपछि उनी घरमै बस्न थालेकी थिइन्। घर भत्किनुको कारण, छाउगोठ नबसेको हो भन्दै उनले फेरि छाउगोठ बनाएकी छन्। ‘घरको पाँड (घरको माथिल्लो तला) मा देउताको भण्डार छ, घरमा बस्न थालेपछि घर भत्कियो, सासूलाई देउता काप्न थाल्यो, अनि दुःखले गोठ बनाएँ’, झुप्रीले भनिन्।

रहर नभएर समाज र घरपरिवारका कारणले गोठमै बस्नुपर्ने बाध्यता आएको सुनिता साउदले बताइन्। उनले भनिन, ‘सम्झाउन खोज्दा उल्टै गाली गर्छन्, बुढापाका मान्दैनन्। सबैभन्दा पहिला त टोलमा रहेका देउताका मन्दिरलाई अलग्गै नराख्दासम्म यो समस्या समाधान हुँदैन।’ कोरोनाको महामारीपछि छाउगोठ बन्न थालेका हुन्। गत मंसिर १५ गते राति साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २१ वर्षीया पार्वती बुढा रावतको छाउगोठमा मृत्यु भएपश्चात् गोठ भत्काउने अभियान निकै तीव्र थियो। 

चैत ११ गतेदेखि लकडाउन भएपछि छाउगोठको अनुगमन नहुँदा फेरि गोठ बन्न थालेका छन्। भत्काएका पुराना छाउगोठ मर्मत गरेर अछामका कतिपय ठाउँमा फेरि गोठमै बस्न थालेका छन्। छाउगोठ फेरि बन्न थालेको वडा अध्यक्षले समेत स्वीकार गरेका छन्। चौरपाटी गाउँपालिकाका–१ का वडाध्यक्ष सालीभान साउदले फेरि छाउगोठ बन्न थालेकाले चुनौती थपिएको बताए।