सुदूरपश्चिममा चार दिनमा चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली कञ्चनपुर र डडेल्धुरामा गरी चार दिनमा चार जनाको मृत्यु भएको हो । त्यसमा कैलालीका दुई जना र कञ्चनपुर तथा डडेल्धुराका एक एक जना रहेका छन् । धनगढीमा मंगलबार कोरोना संक्रमित बृद्धाको मृत्यु भएको छ ।
धनगढी उप–महानगरपालिका वडा नम्बर ७ देवरियाकी ७४ वर्षीया महिलाको मुत्यु भएको नेपाली सेना भवानी दलले जानकारी दिएको छ । फोक्सोमा समस्या आएपछि सेती प्रादेशिक अस्पतालमा गत मंसीर ५ गते भर्ना भएकी उनमा ८ गते कोरोना पुष्टि भएको थियो । अस्पतालको आइसीयूमा उपचाररत उनको मंगलबार मृत्यु भएको हो ।
मंगलबार नेपाली सेनाको भवानी दल गणबाट सह–सेनानी नवलसिँह रोकायाको कमाण्डमा गएको टोलीले वडा नम्बर ७ कै पटेला घाटमा हिन्दु संस्कार अनुसार शव व्यवस्थापन गरेको गणपति विकाश केसीले जानकारी दिए । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरका कोरोना संक्रमितको सोमबार मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बेलौरी नगरपालिका वडा नम्बर ४ का ७६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको बताए । मंसीर ८ गतेदेखि भेन्टिलेटरमा राखेर उनको उपचार भइरहेको थियो । उनी उच्च रक्तचाप र दम रोगबाट समेत ग्रसित रहेको अस्पतालले जनाएको छ ।
डडेल्धुराको अमरगढीमा नगरपालिकामा आईतबार एक कोरोना संक्रमितको मृत्यु भएको छ । डडेल्धुरा अस्पतालको आईसोलेनमा उपचाररत अमरगढी नगरपालिका–५ की ७२ वर्षीया कमलादेवी नगरकोटीको आईतबार बिहान मृत्यु भएको हो । निमोनिया तथा छातीको समस्याले ग्रसित रहेकी उनीमा केही दिन अघि कोरोना संक्रमण भेटिएको थियो ।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उनको शव रण बम गण दह ब्यारेकले व्यवस्थापन गरेको स्वास्थ्य कार्यालय डडेल्धुराले जनाएको छ । यस्तै शनिबार कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
गोदावरी नगरपालिका–१ का ५९ बर्षिया कोरोना संक्रमित महिलाको मृत्यु भएको उनका आफन्तले बताएका छन । उनको स्वास्थ्यमा समस्यमा आएपछि अस्पताल भर्ना गरिएकोमा सारथी अस्पताल प्रालि धनगढीमा मृत्यु भएको हो । उनको सेती प्रादेशिक अस्पतालमा शनिबार कोरोना परिक्षण गरिदा रिर्पोट पोजेटिभ आएको थियो । योसँगै सुदूरपश्चिममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।