कैलालीका स्थानीय तहमा कोरोना अस्पताल सञ्चालनमा ढिलाइ
2020/12/02, 12:28
 
corona

कैलालीका स्थानीय तहमा कोरोना अस्पताल सञ्चालनमा ढिलाइ भएको छ । अधिकांश स्थानीय सरकारले डाक्टर नपाएपछि कोरोना अस्पताल सञ्चालनमा ढिलाइ भएको हो । 

सरकारले पठाएको मापदण्ड अनुसार स्वास्थ्यकर्मीसहित आवश्यक कर्मचारी भर्नाका लागि विज्ञापन निकाल्दासमेत शहरी क्षेत्रमा रहेका केही स्थानीय तहबाहेक अन्यले डाक्टर पाउन सकेका छैनन् । डाक्टर नपाउँदा स्थानीय तहहरुमा कोरोना अस्पताल सञ्चालनमा ढिलाइ भएको छ । 

‘हामीले विज्ञापन प्रकाशित ग¥यौं तर, डाक्टरको आवेदन नै परेन’, कैलारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र सापकोटाले भने । ‘अन्य कर्मचारी भने छनोट भइसकेका छन् ।’ डाक्टरको आवेदन नपरेपछि अब उपलब्ध स्वास्थ्यकर्मीबाटै कोरोना अस्पताल सञ्चालन गर्ने निर्णयमा पुगेको उनले जनाए ।  

सरकारले चालू आर्थिक वर्षमा स्थानीय तहहरुमा कम्तीमा पाँच शøयाको कोरोना अस्पताल सञ्चालनका लागि १० लाख रुपैयाँको दरले बजेट पठाएको छ । सो बजेटबाट साढे चार लाख रुपैयाँ कर्मचारीको तलब, ५० हजार रुपैयाँ औषधि र पाँच लाख रुपैयाँ शøया व्यवस्थापनमा खर्च गर्नु पर्नेछ । 

कोरोना अस्पताल सञ्चालनका लागि स्थानीय तहले एक जना डाक्टर, दुई नर्स र एक जना कार्यालय सहयोगी गरि चार जना कर्मचारी भर्ना गर्नु पर्ने व्यवस्था गरिएको छ । सोही अनुसार कर्मचारी भर्नाका लागि स्थानीय तहले विज्ञापन निकाले पनि डाक्टरको आवेदन भने परेन । 

स्थानीय तहमा अल्पकालीन समयका लागि सञ्चालन हुने कोरोना अस्पतालमा काम गर्नका लागि एक जना पनि डाक्टर इच्छुक नभएको चुरे गाउँपालिकाका नायब सुब्बा सर्वेश कठरियाले बताए । ‘नर्स र कार्यालय सहयोगीका लागि आवेदन प¥यो । तर, डाक्टर भने एक जनाले पनि आवेदन दिएनन्’, उनले भने । ‘डाक्टरको आवेदन नपरेपछि अस्पताल सञ्चालनमा केही ढिलाइ भएको छ ।’ 

चुरे गाउँपालिकाले सहजपुरमा रहेको स्वास्थ्य चौकीको पुरानो भवनमा कोरोना अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको छ । अब आवश्यक परेको बेला डाक्टर दैनिक रुपमा करार सेवामा राख्ने गरी अस्पताल सञ्चालन गर्ने निर्णय भएको कठरियाले बताए । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार टीकापुर नगरपालिका, गौरीगङ्गा र लम्कीचुहा नगरपालिकामामात्रै कोरोना अस्पताल सञ्चालनमा रहेको छ । भजनी र घोडाघोडी नगरपालिकाले  कर्मचारी छनोट गरेर अस्पताल सञ्चालनको तयारी गरिसकेका छन् ।

तर, ग्रामीण र विकट क्षेत्रमा पर्ने कैलारी, चुरेसहित जोशीपुर, जानकी, बर्दगोरिया, मोहन्याल गाउँपालिका लगायतमा कोरोना अस्पताल सञ्चालन भएको छैन । जम्मा १३ स्थानीय तह रहेको यो जिल्लास्थित धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकामा भने कोरोना अस्पताल नपरेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । 

विकट पहाडी क्षेत्रमा रहेको मोहन्याल गाउँपालिकाले त झन कर्मचारी भर्ना प्रक्रियाको सुरसारसमेत गरेको छैन । अस्पताल सञ्चालनका लागि ढिलो भए पनि प्रमुख कार्यकारी अधिकृत नरहेकाले कर्मचारी भर्ना गर्न नसकेको सो गाउँपालिकाका अध्यक्ष नवलसिंह रावलले बताए । 

‘हामीसंग धेरै समयदेखि हाकिम नै छैनन्’, उनले भने । ‘हाकिम आएपछि कर्मचारी भर्ना गर्छौ । अहिले भने कुनै सुरसार छैन ।’ जोशीपुर गाउँपालिकाले पनि डाक्टरबाहेक अरु कर्मचारी छनोट गरिसकेको छ । अस्पतालका लागि जनशक्ति माग गर्दा डाक्टरको आवेदन नपरेको सो गाउँपालिकाका उपाध्यक्ष गीता कठरियाले बताइन् । ‘डाक्टर नमिलेकाले अस्पताल सञ्चालनमा ढिलाइ भएको छ’, उनले भनिन् । 

कोरोना अस्पताल सञ्चालनका लागि सरकारले मापदण्डमा डाक्टर राख्नु पर्ने तोके पनि डाक्टर पाउन समस्या रहेको स्थानीय सरकार प्रमुखहरुको भनाइ छ । सीमित सेवा सुविधामा सीमित अवधिका लागिमात्रै स्थानीय तहमा डाक्टर आउन नचाहेको उनीहरुको बुझाइ छ । 

‘सरकारले निर्धारण गरेको मापदण्ड बमोजिम हामीले डाक्टर पाउन सक्ने अवस्था छैन’, जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले भने । ‘किनकी डाक्टर शहरमुखी छन् ।’ सरकारले ह्वीप जारी गरेमामात्रै विकट क्षेत्रमा रहेका स्थानीय तहले डाक्टर पाउन सक्ने सम्भावना रहने उनले उल्लेख गरे । 

सो गाउँपालिकाको कार्यालयले ‘फेज आउट’ भएको एक एनजीओको भवनमा कोरोना अस्पताल सञ्चालन गर्ने तयारी गरेको छ । एमबीबीएस डाक्टर पाउने सम्भावना नरहेकाले अहेबमार्फत कोरोना अस्पताल चलाउने अध्यक्ष चौधरीले बताए । ‘अस्पतालमा रहेका विरामीलाई कुनै जटिल समस्या आएमा तुरुन्तै ठूला अस्पतालमा पठाउने गरी उपलब्ध स्वास्थ्यकर्मीमार्फत कोरोना अस्पताल सञ्चालन गर्छौ’, उनले भने । 

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले स्थानीय तहले डाक्टर नपाएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउन आवश्यक रहेको बताए । घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरीले अस्पताल सञ्चालनको तयारीमा रहेको जनाए । उनले डाक्टरसहित सबै कर्मचारी छनोट भइसकेको उल्लेख गर्दै दरखमा कोरोना अस्पताल सञ्चालन गरिने उल्लेख गरे । 

यसैबीच, सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोभिड–१९ का शङ्कास्पद व्यक्तिको नमूना सङ्कलन गर्ने काममा कमी आएको छ । गत एक हप्तामा प्रदेशका विभिन्न जिल्लाका कोरोनाका शङ्कास्पद दुई हजार ३५१ जनाको नमूनामात्र सङ्कलन हुन सकेको छ ।

नयाँ सङ्कलित नमूनासमेत गएको हप्तामा दुई हजार ३८८ नमूनाको परीक्षण हुँदा ३९२ जनामा सङ्क्रमणको पुष्टि भएको छ । सामाजिक  विकास मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा यो अवधिमा थप ३९२ जनामा सङ्क्रमण देखिँदा ४१३ जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन् । अहिलेसम्म  नौ हजार ४६० घरफर्किएका  छन्  । सङ्कलन भएका केही नमूनाको परीक्षण हुन बाँकी छ । 

सेती प्रादेशिक अस्पताल धनगढी, कोभिड–१९ उपचार विभागका प्रमुख डा शेरबहादुर कमरले कोरोना भाइरसको सङ्क्रमण हुने दरमा कमी नआएको बताए । ‘जाडो मौसममा ‘भाइरल इम्फेक्सन’को जोखिम बढी हुने गर्दा कोरोनाको जस्तो लक्षण देखिने निमोनिया, रुघाखोकीका बिरामी बढ्दै गएको देखिएको छ’, उनले भने–‘पछिल्ला दिनमा कोरोना भाइरसका जटिल अवस्थाका र सक्रिय सङ्क्रमित बिरामी भर्ना हुने दर पनि बढ्दो छ  ।’

 स्वास्थ्य निर्देशनालय दीपायलका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले आवश्यक स्वास्थ्यकर्मीको अभाव हुँदा नमूना सङ्कलन गर्ने काममा कमी आएको जानकारी दिए । लक्षण देखिएका र यस्ता व्यक्तिको सम्पर्कमा आएका, अन्यत्र ठाउँबाट आएर क्वारेन्टिनमा बसेकाहरुको मात्र नमूना सङ्कलन गर्नुपर्ने पछिल्लो मापदण्ड बनेकाले पनि नमूना सङ्कलनमा कमी आएको हुन सक्ने उनले बताए । सङ्क्रमित भई होम आइसोलेसनमै मृत्यु हुने कतिपयको तथ्याङ्क भने मन्त्रालयसँग छैन ।