भारत जाने नेपालीबाट लाखौँ रुपैंया ठगी गरी अलपत्र पार्ने चार जना विरुद्ध जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक मुद्दा दायर गरेको छ । सोमबार भारत जान लागेका १३० जना नेपालीबाट १० लाख भन्दा बढी रकम असुलेर फरार भएका धनगढीमा रहेको बर्दादेवी टुर्स एण्ड ट्राभल्सका चार जना पदाधिकारी लाई सार्वजनिक मुद्दा दायर गरी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए ।
धनगढी बसपार्कमा रहेको उक्त ट्राभल्सका अध्यक्ष रमेश बिक, उपाध्यक्ष खेम जोगी, रुद्र आग्री र अर्जुन जयगढीमाथि अदालतबाट म्याद थप गरी मुद्दा चलाइएको हो । ट्राभल्स रहेको अछाम नेशनल गेष्ट हाउसका सञ्चालकलाई भने प्रहरीले छोडेको छ ।
बर्दादेवी ट्राभल्सले सीमा पारी भारतका विभिन्न स्थानमा जाने बस पाईने भन्दै धनगढी बजारमै रहेको आफ्नो काउन्टरमा टिकट काटेको थियो । तर, यता पैसा तिरेर पारी गएका नेपालीले टिकट लिए अनुसार सवारी नपाएपछि ठगीको रहस्य खुलेको हो ।